Tuesday, August 20, 2013
“गुटखा गुरू” [कथा]
१. _____ स्कुल छुट्टी हुनासाथ हाम्फाल्दै अनिल डेरातिर हान्नियो। डेरा पुग्नासाथ ढोका खोलिवरी अस्तव्यस्त बेडको सिरकमाथि झोला मिल्कायो। ड्रेस फेर्नु बाँकि नै थियो, उसको नजर एकाएक अब एक कुनामा राखिएको झोलामा पर्यो। झोला खोलेर उसले त्यसभित्रको छाताको खोल निकाल्यो, जसमा उसको भएजतिको नगद श्रीसम्पत्ति थियो। फुटकरसमेत जोडेर गन्दा जम्माजम्मी रू.७५५ भयो। के शुर चल्यो कुन्नी? उसले जम्मै पैसा गोजीमा हुल्यो र ड्रेसै नफेरी मोबाइल गोजीमा कोचेर नजिकैको होटलतिर लम्क्यो। दिउसभरिको भोक खपेको पेटको पूजा गर्ने बेला उसको यही थियो। मटर-समोसा मगाएर एक चम्मच खान भ्याको थ्यो, फोनमा रिङटोन बज्यो-Enrique को '....सम्बडिज मि ओ एइ'! उसकै दाजू अजयले गरेको रैछ। फोन उठायो,उताबाट सुनियो-“ओए? काँ छस् त? बालाई सञ्चो नभएर जिल्ला-हस्पिटल ल्याछम्। तँ झट्टै आइज त तल हस्पिटलमा।” अनिलले 'हुन्छ' भन्यो,उताबाट फोन काटियो। ऊ अब होटेलवालालाई पैसो भोलि तिरौला भन्दै त्यहाँबाट उड्यो हस्पिटलतिर। बाटैमा संजोगले भरत देखा पर्यो,उनीहरू एउटै गाउँको अनि एउटै स्कुलका सहपाठी। भरतले औपचारिकताबिना नै भनिहाल्यो-“कता हिडिस् यार? ओए छ भने गोडा पाँच सय सापट दे न यार,चाहियाथ्यो।” अनिल कड्कियो-“आफ्नो ह्याँ ड्याड बिमारी भएर हस्पिटल आउनुभाछ र उतै जान लाको, पैसा बरू छ भने मलाइ दे बुझिस्?” भरत वाल्ल पर्यो र भन्यो-“ ओ सरी यार! टाइम भको भए त म पनि जान्थे, ल ल ठीकै छ चाँडो जा।...ए ए सुन् त पैसा त माग्न भएन क्यारे, बरू एउटा भोला(गुटखा) त ख्वान यार,आफू त भुक्का भाछु यार आज त!” नजिकैको पसलमा छिरेर अनिलले दश रूपैया तिरी ४ वटा भोला किन्यो,खासमा उसलाई नि तलतल लागिराथ्यो। एक प्याकेट भोला खोलेर मुखाँ हाल्यो अनि अर्को प्याकेट भरतको हातमा थमाउँदै उसले हकार्यो-“ तँ त सधैको भुक्का त हो नि! कैल्यै पैसो छ भन्या सुनिया छैन क्यारे! ल ल म हिडे, तँ आफ्नो बाटो लाग्!” अनिलको छोटाछोटा पाइला छिटोछिटो चल्न थाले। ____________________________________________________________________________________२. _____ हस्पिटलमा पुगेर सोधपुछ गरी उ सिधै बेड नं १६ मा पुग्यो। त्यहाँ उसका बा बेडमा पल्टेका थिए। दाजू चाहि छैवैमा बसेको थियो। अनिलले दाजूलाई सोध्यो -के भयो र बालाई? “तेरो बालाई केही भा छैन,नडरा!” बेडमा पल्टेका बाले आफै जवाफ दिए। उसको दाजूले भन्यो-“ हिजोदेखि जो मृगोलानिर दुखिराछ भन्नुभाथ्यो,अघि डाक्टरले चेक गर्याथ्यो-पत्थरी छ अरे! भोलि अपरेसन गरेर निकाल्ने भनेको छ।” अनिलले दाजुको मुखाँ ट्वाल्ल परेर हेर्दैथ्यो, उसका दाजूले जुरुक्क उठेर एक थप्पड दिए अनिललाई। “साले भोला पो खाँदो रहेछ।” उसको दाजू जङ्गिए। अनिलले पछाडि फर्केर झ्यालबाट थुक्यो अनि अरु बाँकि दुइ प्याकेट भोला-गुटखा पनि झ्यालबाटै मिल्कायो। “ए विद्या यो त अम्मली पो भैसकेछ, तँलाई चिर्कोट! पढ्न भनेर पठाको त यस्तोयस्तो पो सिकेछ त हँ यसले त!” उसको दाजूले एक चड्कन फेरि कसेरै दिए। उसका दुबै गाला राता भए। यतिञ्जेल पल्टिराखेका उसका बा पनि उठेर बसे,उनको पनि पारो तात्यो। अजय(अनिलको दाइ) पट्टी फर्केर उनले दाह्रा किट्दै उनले भने-“ एक थप्पड अर्को पनि हान् यसलाई। घरबाट आउनजान गाह्रो भो ,बजारमै बसेर पढ्यो भने छोरोले राम्ररी एस.एल.सी. पास गर्ला भनेको त यो त पूरै लफङ्गो पो भएछ त!” अनिल सुक्कसुक्क गर्न थाल्यो। टिठ लाग्यो क्यारे अजयले अर्को थप्पड चाहि हानेनन्। उसका बाले उही पुरानो डाइलगमा हप्काएँ-“अर्को चोटी यस्तो भेट्टाए भने तँलाइ झुण्ड्याएर मार्छु बुझिस्?” अनिल केही नि बोलेन ,एकछिन सबै मौन भए।
एकछिनपछि अनिलका बा बोले-“ए अनिल तँ जा कोठामा, ह्याँ तेरो दाइ छदैछ, गएर खाना बनाएर खा, राम्रोसँग पढ्नु! दायाँबायाँ हैन नि! ह्या मेरो केही नि चिन्ता लिन पर्दैन,बरू भोलि नि यै टाइममा आइज!” अनिल 'हवस्' भन्दै कोठामा फर्कियो। ____________________________________________________________________________________३.______ अनिल बिहान खाना बनाइ खाइवरी स्कुल जान्थ्यो र स्कुलबाट फर्केर सिधै हस्पिटलमा जान्थ्यो बालाई भेट्न। चार दिनसम्म यही क्रम दोहोरियो। पाँचौ दिन साँझ नै उसका बा डिस्चार्ज हुनुभो, उनीहरू तिनैजना त्यो रात अनिलको कोठामा खानासाना खाएर सुते। अर्को दिन बिहानको खाना खाएर दुइ बाउछोरा घरतिर लागे भने अनिल चाहि स्कुल। अनिलले भरतको सङ्गत छोडिसकेको थियो। क्लासमा पनि उसित बस्थेन ,बोल्न पनि छोडिसकेको थियो। कारण प्रष्ट थियो भरतकै संगतमा लागेर अनिलले गुटखा खान सिकेको थियो र त्यसकै कारण उसले चड्कन खानुपर्यो। त्यो दिन स्कुलबाट फर्कदा अनिल अगाडिअगाडि र भरत पछाडिपछाडि हिडिरहेका थिए। भरतले पछाडिबाट बोलायो-“ओए अनिल रूक् न!” अनिल एकछिन रोकियो। भरत छेवैमा आएर भन्यो-“के हो यार? तँ त मसँग बटारिदै हिन्छस् त? के भयो हँ? ह्या जे सुकै होस्,सब कुरा बिर्सिदे। ..ए ए सुन् त एउटा भोला ख्वान यार,आज त म त भुक्का भाछु यार,सुक्को छैन।” अनिलले दाँत बजाउदै एक मुक्का भरतको काँधमा बजार्यो र भन्यो-“साले तैले यै भोला खान सिकाउदा दाइको पिटाइ खान परो। अब त इस् ख्वाउचु तँ जाबोलाई, तँ साले साइड लाग्!” भरत पनि रिसाउदै जङ्गियो-“ अनि दाइको रीस तैले ममाथि पोखेको? साले मलाइ हिर्काइस् हैन? अलि अस्ति मैले तँ बाट सापट लिएको दुइ हजार रूप्पे अब तैले नपाउने भइस्, पैसा पच्, तँ पनि साइड लागे हुन्छ भाइ अब!”
यति भनेर भरत रन्केर गयो। अनिललाई पर्नु पीर पर्यो, उसले मनमनै सोच्यो-“हे भगवान्! यो 'गुटखा गुरु'ले त डुबाउनु डुबायो नि! उता दाइको कुटाइ खान परो, यता पैसो पनि दिन्न भन्च। गोजीमा पैसो पनि सकिंदै गाछ, घरबाट मगाऊँ भने अस्ति भर्खर तीन हजार ल्याइएकै हो,फेरि बाको अपरेसन गर्दा टन्नै खर्च भो, घरमा पनि काँ पैसा होला र? यो सालेले दिए त यो महिनाको खर्च त टर्थ्यो। अब यसलाई के भनेर फकाउनु नि?” ______________________________समाप्त____________________________________________
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment