आदेश र निर्देशन सुन्दा सुन्दै म थाकेँ
जलन आवेग मनमै थुन्दा थुन्दै म थाकेँ ।
तत्कालै, तुरून्तै, अहिल्यै शव्द जुन भए नि अर्थ उहीँ
बोली मोटो-पातलो, टाठो-मधुरो जे भए नि भाव उहीँ ।
भोलि ऊ पर्सि त्यो चै लौ आज यो
पर्खिने हैन काम तपाईले नै गर्ने हो ।
बिदा बस्ने हैन है काममा ध्यान दिनुस्
नुनपानी खाएसी बदलामा ज्यान दिनुस् ।
हिजै गर्नुपर्ने त आज पनि भ्याउनुभएनछ
खोई कहाँ छ फाइल अझै ल्याउनुभएनछ ।
धेरै पेलिएँ म हो साह्रै पेलिएँ
थोरै मात्र पाएँ धेरै धेरै दिएँ ।
कारिन्दा बहुतै झेलेँ अव त म पनि हाकिम बन्छु
माथिकालाई 'हवस् सर' तलकालाई 'हँ/अँ' भन्छु ।
दुई हात जोड्नेलाई एउटा हात हल्का हल्लाउँछु
बाल नदिने स्यालहरूलाई राम्रै सित तह लाउँछु ।
कुर्सीमा सिंगापुरे तौलिया टेवलमा कफी मगाउँछु
सुसारेलाई साइडमा राख्छु, बेसारेलाई भगाउँछु ।
नेता आए लुरूक्क पर्छु भैहाल्छ भन्छु
अरू आए मुन्टो बटार्छु किन पो गन्छु ।
कसैले त सलाम नठोक्नेलाई झापडै ठोक्छन् रे
कोसेली नलिई आउनेलाई त गेटमै रोक्छन् रे ।
बिस्तारै म पनि सिक्दै त्यस्तै गर्दै जान्छु
फेला परेको कोष झिक्दै गोजी भर्दै जान्छु ।
रैतीका रूवाई घाममा सुकोस् बस् आफू रम्नु छ
दुई चार सालभित्र चाँडै काठमाण्डौमैँ जम्नु छ ।

