Sunday, February 26, 2017

संस्मरण÷विस्मरण




स्नातक अध्ययनरत म । २०७० सालतिर क्याम्पसमुनि बतासे डाँडाँको पुरानो होस्टेलमा मेरो बास । उसो त त्यसताकाका स्मरणीय बात धेरै थोक नै छन् । तर यस क्षण एउटा घटना । कुरो बतासेडाँडाबाट नजिकै पर्ने कैलाशनगरको चोकैमा पर्ने यौटा पसलसित जोडिएको छ । त्यो पसलबाट रु एक हजारको एनटिसि रिचार्ज कार्ड किनी कार्डको नम्वर घरमा भाइलाई दिएँ । घरको मोवाइलमा डेट भ्यालिडिटी सकिएको रहेछ , डेट भ्यालिडिटी बढाउन ग्वाम्मै हजारको रिचार्ज गर्ने तर रिचार्ज भइआएको रकम भने पसलेलाई नै फिर्ता ट्रान्सफर गर्ने शर्त थियो । यसवापत पसलेलाई रु पचास सेवा शुल्क दिने सहमति थियो । सहमतिअनुसार नै भाइले घरबाट रिचार्ज गरीवरी सबै ब्यालेन्स मलाई ट्रान्सफर ग¥यो र मैले चाहिँ पसलेलाई । पसलमा ग्राहकहरु अरु नि थिए, लगभग सबै महिलाहरु । मैले साहुनीलाई सेवाशुल्क दिएँ । पसलको अर्को साइडमा साहूजी चाहिँ यौटी महिलालाई साली सम्वोधन गर्दै अन्तरंग कुरामा व्यस्त थिए । मैले साहूलाई केही अघि खाएको चुइंगमको प्याकेटको पैसो रु २० दिएँ र कोठातिर हिँडे ।

होस्टेलको खाना खाईवरी केटाहरुसित गफ गरिराखेको समयमा यौटा नचिनेको ल्याण्डफोनबाट कल आयो , उठाएँ । तपाइँ कहाँ हुनुहुन्छ ? अघि रिचार्ज गर्नेवाला तपाइँ हैन ? चुइंगमको पैसा नदिई हिँड्ने ? उनले फोन कुरोको चुरो फुकाए । मैले विचारे – अघि सालीसित गफ गर्दै थिए, मस्त मुद्रामा रहेका उनले मैले दिएको पैसा त बुझे तर ध्यान जति सबै सालीतिरै रहेछ । पैसा बुझेर ड्रयरमा राखेको हेक्कै भएनछ बबुरोलाई । मैले उनको प्रश्नको जवाफ फर्काएँ– म अहिले बतासेमा छु , पैसो त अघि नै दिइसकेको हो मैले । उनी भन्दै थिए – कहाँ दियौ पैसा ? खुरुक्क पैसा लिएर आऊ , मलाई अरु कुरा थाहा छैन । मैले भने – पैसा त बुझाइसकेको हो तैनि म आउँछु तपाइँको पसलमा ।


म गएँ । आशा थियो, मैले उनलाई घटनाबारे स्पष्टीकरण दिएर फर्किनेछु । उनको पसलमा अहिले बुढाबुढी मात्र रहेछन् । मैले भने – तपाइँ अघि एक जना महिलासित गफ गरिरहनुभएको थियो । त्यहीँ समय मैले बीस रुपैया दिएको हो । तपाइँले पैसा बुझेको ख्यालै गर्नुभएनछ । उनी एकाएक बम्किएँ – पैसा बुझे नबुझेको मलाई थाहा हुँदैन ? मैले दोहो¥याएर पैसा माग्छु त ? खुरुक्क पैसा दिएर हिँडिहाल, कुरो नगर मसँग । मैले फेरि सविनय भने– म जाली कुरा गर्ने फटाहा होइन , तपाइँले फोन गरी बोलाउँदा म नआउन नि सक्थे तर तपाइँलाई साँचो कुरो सम्झाउन बुझाउन सक्छु कि भन्ठानेर मात्रै म आएको हुँ । उनी अझै बम्किएर “के मैले तँसित पैसो नभएर मागेको हो ...... ला ... कति चाहिन्छ लैजा ......” भन्दै गन्दै गरेको हातको पैसा मतिर फ्याँके । म किंकर्तव्यविमुढ बनेर ट्वाल्ल परी उनको हर्कत हेर्दै गर्दा साहूकी बुढीले मतिर हेरी हाते इशाराको साथ बोलिन्– तपाइँ जानू ... जानू । उनको आग्रह परिस्थिति नियन्त्रण गर्ने प्रयत्न थियो । मैले बुझे, यहाँ मेरो केही चल्नेवाला छैन । खुरुक्क निकाली फेरि २० रुपैयाँ साहुनीलाई दिएँ र हिँडे । साहू भनाउँदो केजाति बोल्दै अझै फतफताउँदै थियो । मैले बीस रुपैयाँ फोकटमा तिरे, त्यसको लागि चीत्त दुख्नेवाला थिएन तर त्यससँगै भएको मानहानी औँ अपमानले भने धेरै चीत्त दुख्यो ।

No comments:

Post a Comment