''ऋण असुल्न त कसैले वायुबाट सिकोस्।'' ૨૦७૦/૧૨/૨૧
मान्छे यति गरीब छ, यति गरीब छ, भओ नकुरा गरम् भन्दा नि गर्नै मन लाग्छ । मान्छेले हरेक पल ऐंचोपैंचो र दानदातव्यमै गुजारेको छ? रोडपति पनि ऋणमै बाँचेको छ, करोडपति पनि ऋणमै बाँचेको छ। करोडपतिलाई के को ऋण भन्नुहोला। ठूलाबडाको ऋण झन् ठूलै जो हुन्छ भन्छन्। :) तर मैले यहाँ पैसाको ऋणको कुरा गर्न चाहिनँ। सबै मान्छेको सबैभन्दा साझा अनि सबैभन्दा ठूलो साहु हो -वायु अर्थात् हावा भन्नुस् वा अक्सिजन भन्नुस्। बिचार गर्नुस् वायुबाट थोरै हावा सापट नलिइकन तपाइ एक पल रहन सक्नुहुन्छ? प्रत्येक पल वायुसित थोरै थोरै ऋण लिंदै हामीले आफूलाई बचाइरहेको छौ। फेरि यो वायु पनि अन्त्यन्तै चुइँया र कञ्जुस साहु जो छ, हेर्नुस् है। गर्छ के भने एकपल्टमा धेरै ऋण पनि दिदैन, अनि फेरि ऋण हेर्नुस त कति चाँडो असुल्छ। वायुबाट सापटी लिएर फोक्सोभित्र छिराएको अक्सिजन दुइ मिनेट सम्म भित्रै राख्ने चेष्टा गर्नुस्, अनि थाहा पाउनुहुन्छ- वायु कति कडा/strict साहू हो भनेर, प्राणै फुत्केला झै बनाइदिन्छ, कि होइन? फेरि अर्को कुरा! हेर्नुस् त कुनै मान्छे मर्दा छेउछाउका आसेपासे इष्टमित्रमा गाइँगुइँ सुनिन्छ नि- ''फलानोले त मेरो यति रूप्पे ऋण खाएर मर्यो''। चलेको ऋण दिने साहु रहेछ भने गएर सोध्नोस् त- उसको ऋण खाएर मर्नेहरूको नामको लिष्ट उसलाई कण्ठष्ठ नै छ होला, फलानो-हलानो-चलानो भनेर फरर भन्दिन सक्छ। तर के त भन्दाखेरि यो वायु हेर्नुस् यति कडा छ, यति कडा छ। वायुको ऋण खाएर कोही मान्छे मर्यो भन्ने आजसम्म यो लोकमा यतिका मितिसम्म सुनियाँ छैन। अन्तिमपल्ट लिएको सास(ऋण) पनि 'फ्वाँ' गरेर फेरि वायुलाई नै फिर्ता गरेपछि मात्र यमलोकको टिकेट पाइन्छ। ऋण असुल्न त कसैले वायुबाट सिकोस्।
No comments:
Post a Comment