१.अलिक गर्मी थियो, म बाहिर खाटमा बसेर साँझको खाना खाँदै थिए। भित्र मोबाइलको घण्टी बजेजस्तो लाग्यो,बाले उठाउनुभएछ।'माहिला भित्र आइज त,शेखर भाइले फोन गर्याछन् कतारबाट, तँ सँग कुरा गर्ने रे!' सुन्नेबित्तिकै एकै सासमा म भित्र पुगे। 'हेलो अंकल दर्शन!', 'आशीर्वाद छ बाबु, कुरा के पर्यो भने म भोलि नेपाल फर्किदैछु। पर्सिसम्म नेपाल आइपुग्छु,तिमी एसएलसी दिएर बसेका रैछौ क्यारे! काठमाण्डु घुम्न पनि हुन्छ,तिमी पर्सीतिर काठमाण्डौ आउ,अनि सँगै घर फर्कौला।' उहाँले एकोहोरो कुरा सिध्याउनुभो। मैले हवस् भन्नेबित्तिकै फोन कट्यो। बाआमा सँगै बसेर खाना खादैहुनुहुन्थ्यो,कुरो यस्तो रैछ भनेर भने। उहाँहरू दुवैले 'जाँ न त आजसम्म ग'को पनि छैनस्। शेखरले पक्कै तँलाई केके ल्याइदेको होला विदेशबट त्यै भएर बोलाकोहोला' हाँस्दै भन्नुभयो।
२.पढ्नु केही थिएन।आजकल काम बस् खानु र सुत्नु मात्र थियो। म कोठामा पुगे।घप्लक्क ओछ्यानमा ढले। शेखर अंकलका भर्खर बोलिएका शव्दहरू कानमा फेरी गुञ्जन थाल्यो। शेखर अंकल खासमा साख्खै अंकल होइनन्। मेरो बा र उनको बाका बाहरू घरकै दुइ भाइ अरे!घर जोडिएको थियो,त्यसैले हाम्रो परिवारबीच बिछट्टै आत्मीयता थियो। शेखर अंकल र दीपा अंटीको बिहेमा गएको,भोज खाएको,अर्को दिन पेट दुखेर स्कुल जान नपाएको कुरा मानस्पटलमा एक-दुइ झिल्का अझै बाँकी थिए। शेखर अंकलले मलाई धेरै नै माया गर्नुहुन्थ्यो। हुन त उहाँहरूको बिहे भएको ८ बर्षसम्म पनि छोराछोरी केही भएको थिएन,त्यसैले नि होला, कमजोरी शेखर अंकलकै थियो रे। यो सब भएर पनि ती जोडीको बीचमा चखेवाचखेवीकै प्यार छचल्किएको देख्न पाइन्थ्यो।मलाई पनि बाआमा पछि सबैभन्दा मानिने गनिने र आफ्नो लाग्ने व्यक्ति शेखर अंकल नै हुनुहुन्थ्यो। अंकल पहिले भारतीय सेनामा थिए,३२ बर्ष पुगेपछि बल्ल उनले बिहे गरे। ३८ बर्षको उमेरमा रिटायर्ड भए, तीन चार महिनापछि फेरी उनी सेक्युरिटी गार्डमा कतार हान्निए। 'बच्चाबच्ची छैनन्, तै नि यो अंकललाई कति पैसा कमाउन मन परेको, घरमै बसे बरू बच्चा पनि जन्मी पो हाल्थे कि?' मलाइ बेलाबेलामा यस्तै लाग्थ्यो,शेखर अंकल घरमा धेरै नबस्ने भएर बच्चा हुन नसकेको होला जस्तो मलाई लाग्थ्यो। शेखर अंकलले प्रत्येक पटक छुट्टीमा आउदा मलाइ जिन्सको पाइण्ट र सर्टहरू ल्याइदिनुहुन्थ्यो, इण्डियन मीठाइहरू नि हुन्थ्यो।खुशीको कुरो एक प्याक मीठाई मेरो भाइले पाउथ्यो,भाइको अगाडि बाँड्दाखेरी एकै प्याक मात्र दिएपनि पछि खुसुक्क सट्टीमा एक प्याक बोनस पाउथे। मनै चङ्गा हुने गाँठे। मीठाइको मीठोपन मुखमै हुन्थ्यो,अब उहाँ र म भएर गाउँ डुल्न निक्लन्थ्यौ। दाजू पोखरा बसेर इञ्जिनियरिङ पढ्दै हुनुहुन्थ्यो, मलाइ थाहा भएअनुसार उहाँले कहिल्यै अंकलको मीठाई चाख्ने अवसर मिलेन र मैले पनि मनमनै दाजू घरमा नभइदिएकोमा भगवानलाई धन्यवाद दिन्थे किनकि मलाइ लाग्थ्यो कि उहाँ भैदिएको भए अहिले पाइने मीठाई बाँड्दा केही कम मीठाई मात्र हात लाग्नेछ। अर्को कुरा दाजूलाई बाले आफ्नो (नेपाली)आर्मी-पेन्सन बुझ्नेबित्तिकै हरेक महिना रू५५०० पठाउनुहुन्छ भन्ने मलाइ थाहा थियो र आफूलाई भने बीस-पचासभन्दा बढी मिल्थेन, ज्यादै दु:ख लाग्थ्यो र त्यसको बदला मीठाइले जो पूर्ती गरोस् भन्ने उबेलाको साँघुरो सोच थियो।
३.'ए माहिला उठ्ने होइन,भोलि काठमाण्डू जाने अरे अनि के हो नुहाइधुवाई गर्छस कि यत्तिकै धुर्सेमुर्से नै जान्छस्?' आमाको बोलीले झसङ्ग भए,बिउँझिए,आँखा मिच्दै उठे। ओहो! गाडीमा चढ्दा त विद्यार्थीलाई छुट पो हुन्छ त! तर दुखको कुरो मसँग परिचयपत्र थिएन। संकटकालको बेलामा स्कुलले परिचयपत्र अनिवार्य गरेको थियो र कक्षा-छ मा हुदा बनाको मात्र एउटा थियो। त्यै नि धुँदा पानीमा भिजेर अपाङ्ग भएको थियो,फोटो भने त्यति बिग्रेको थिएन! गर्ने के त? आइडिया आयो- शिव दाइको होला नि पुरानो, उनी त यताउता पनि हिडिरहने,पक्कै होला! उनको परिचयपत्रमा मेरो फोटो चिप्काए त तण्टै खतम। म शिव दाइको घरमा पुगे र सोही आग्रह गरे उनले पनि ए छ छ भन्दै एउटा कक्षा-९ वाला परिचयपत्र थमाइदिए। मन खुशी भो। 'ल तेरो नाम त मिलेन नि?' 'मेरो नाम के निधारमा लेख्याछर म शिव हो कि कर्ण त्यो जाबो खलेले काँ'ट चिन्नु? म अब गाडी चढ्दा शिव नै हो।' मनोवाद चल्यो। घर पुगेर शिव दाइको परिचयपत्रको फोटो सावधानीपूर्वक उतारी त्यसमा आफ्नो पुरानो त्यै परिचयपत्रवाला फोटो जमाउने निर्णय गरे। ला गम त छैन ,के गर्नु? फेरी आइडिया फुर्यो,पीठो भिजाएर त्यसैले चिप्काउने त हो नि!हो त्यसै गरियो! हेडमास्टरको सिग्नेचर नमिलेको थाहा पाएसी रातो कलम खोजेर फेरी धस्याकधुसुक बनाइदिए। लौ जा! अब इन्द्रेका बा चन्द्रेले नि खुट्याउन सक्तैन। म शिव हो शिव हाहाहा!
४.नुहाइधुवाइ पनि भयो,खाना खाइयो। अनि दीपा अण्टीकोमा जाने बिचार आयो र गएँ, उहाँ खुशी हुनुहुन्थ्यो कि दु:खी मैले खुट्याउन सकिनँ। '२ वर्षपछि बुढा घर आउने भएसी नि केको पीर लिनुहुन्छ हो अण्टी?' मैले जिस्काको जस्तै गरी भने। उहाँ केही गम्भीर बन्नुभयो र भन्नुभयो- 'कर्ण तिमी त अल्लारे मान्छे, तिम्लाई त यस्ता कुरामा केको विश्वास लाग्थ्यो र! तर आज राति मैले ज्यादै नराम्रो सपना देखें, उहाँलाई....उहाँलाई त...' उहाँ घुँक्कघुक्क रून थाल्नुभयो। 'छ्या अण्टी पनि! पर्सी साँझसम्म त हामी आइपुगिहाल्छौ नि! बेकारमा टेन्सन लिनुहुन्छ। अब सपना भन्ने कुरा त जे पनि देखिहालिन्छ नि,टेन्सन लिने त कुरै छैन।' उहाँ भन्न थाल्नुभयो- 'हैन कर्ण! मेरो सपनाले मिस खाएको छैन अहिलेसम्म, पोहोर नि यस्तै सपना देख्दा मामु खस्नुभयो' उहाँ फेरी रून थाल्नुभयो। ठुलो मान्छे रोएको कति नसुहाएको! मैले फेरी पनि केही हुदैन ,पर्सी त जसरी नि घरमै आइपुगिन्छ, सपना मिल्नु त संयोग मात्र हो, आदिआदि भनेर सम्झाउने असफल प्रयाश गरे। उहाँ अलिक ढुक्कजस्तो हुदै भन्नुभयो-''यदी तिम्ले अंकललाई लिएर आएनौ भने?'' मैले उट्पट्याङ शैलीमा जवाफ दिए-आ...ल्याइहाल्छु नि!ल्याएन भने मेरो कान काटेर तपाइलाई बुझाउछु, म जिन्दगीभरी कुमारै बसूँला, भो?''/''तिमी कान काटेको मान्छेलाई कसले पत्याउछ र बिहे गर्छौ त नि?''
५.अण्टीको अनुहारमा केही आशाका धर्सा अनि मुस्कानका भावहरू पढिसकेपछि
मैले अण्टीलाई अझ आश्वस्त पार्दै उहाँबाट बीदा लिएँ। घरमा पुग्दा बाले पैसा
गन्दै हुनुहुन्थ्यो, एक दुइ तीन चार हज्जार!! 'लौ चार हज्जारले त पुग्ला
नि माहिला, ल राख।' मैले सहमतिमा मुण्टो हल्लाउदै चुम्बकले फलाम तानेझै
पैसा ताने।त्यतिबेला ,जब चार हज्जार रूपैया मेरो हातमा थमाइयो,त्यतिखेर
मेरा नशानशामा अनौठो फूर्ती आएको अनुभव भइरहेको थियो। शरीरका सबै रौंहरू
एकैसाथ ठाडठाडा भएका थिए। आजसम्म मलाई बाले दिनुभएको पैसाको सबै हिसाबकिताब
नबिराई जोड्दा पनि त्यत्रो चार हज्जार पुग्ने संभावना अह थिएन। मैले बालाई
आँखा झिमिक्क पारे अनि भित्र कोठामा पुगेर खल्तीको पैसा फेरी थुक लगाईलगाई
नअघाञ्जेल गनिरहें। हुन त त्यो पैसा दाजूले मासिक पाउने पैसामा अझै पन्ध्र
सय कम थियो। तर पनि मलाई त्यो पैसा करोडभन्दा कम लागेको थिएन। बास्तवमा
जीवनमा पहिलोपल्ट त्यत्रोविधि पैसा मेरो हात परेको थियो। अब एकहिसाबले उक्त
पैसा कहाँकसरी खर्च भन्नेतिर मेरो ध्यान केन्द्रीत भइसकेको थियो।
गाडीभाडा र नास्तापानी गर्दा दुइ हजारभन्दा बढी खर्च हुने चान्स नै थिएन।
ओहो! अनि बाँकी दुइ हज्जार के गर्ने त? ''काठमाण्डू गएर एकजोर महँगोखाले
कन्भर्स सूज र एउटा दामी टिसर्ट हान्नपर्छ'',एकमनले निर्णय सुनाइसकेको
थियो। अरू केही पो गर्ने हो कि भन्ने पनि लाग्यो तर उपयुक्त विकल्प भेटिएन।
६. सबैभन्दा मिल्ने गाउँकै साथी अजयलाई फोन लगाए र आफू भोलि केटीएम हिड्न
थालेको गफ दिएँ र जाने भए हिड सम्म पनि भने तर मनले चाँहि ऊ नगइदिए
हुन्थ्यो भन्ने लागिरहेको थियो। किनकि आफू एक्लै काठमाण्डु गएपछि फर्की आएर
गफ हान्न पाइन्छ भन्ने आशा मनमा थियो। उसले पनि मेरो त अरू नै काम छ जान
पाउदिन भनेपछि मेरो छाती ढक्क फुल्यो र अझ नाटकीय कुरा गर्दै भने-''जाम न
हिँन एकवारको जूनीमा कहिलेकाही त घुम्न नि पर्छ ए गानी!'' विश्वास थियो, यो
जति कर गरेपनि जाँदैन, के बाल भो र? र उसले मान्दा पनि मानेन। साँझ पर्यो,
म बाआमा बसेतिर टुसुक्क बस्न गएँ। ''ल छोरा काठमाण्डु त जाने भइस् ,छतमा त
नबस्नु है!!,कतै कही भइहाल्यो भने?'' आशंकामिश्रित स्वरमा आमाले भन्नुभयो!
'अँ त्यो त होनि, छतमा त चढ्न हुन्न!'' बाले पनि सहमती जनाउनुभो। छतमा
चढ्न मलाई नि डर लाग्थ्यो तर ते गर्नु छतमा नचढी हामीलाई सुखै थिएन। पहाडको
बाटो मान्छेहरू ठेलमठेलम! म दुइचोटी दिदीको घर जाँदा बसमा चढेको थिए र
दुवैपल्ट छतको यात्रा गरेको थिए,बाध्यता नै थियो। छतमा अरू त त्यस्तै हो,
चीसो हावाको झोक्का एकातिर मिल्थ्यो भने अर्कोतिर छतमा चढेर बाटामा देखिएका
केटीहरू जिस्काउने केटाहरूको रमाइलो बानीले केही रूपमा ओठमा मुस्कान अवश्य
ल्याइदिन्थ्यो, उस्तै परे हो मा हो पनि मिलाइन्थ्यो। 'म छतमा चढ्दीन,किन
चीन्ता लिनुहुन्छ?'मैले भने। साँच्ची भन्दा पहिलाका दुइपल्ट पनि मैले
बाआमालाई यसरी नै आश्वस्त पारेको थिए। केही बेर कुरा भयो, खाना
पाक्यो,खाइयो ,सुतियो। अहो! भोलि बिहान त साढे छ बजे नै गाडी
चढ्नपर्छ,छटपटी हुदैथ्यो,नीद्रा चाँडो परोस् ,मनले यस्तै भन्दैथ्यो।
७.बिहान पाँच बजेको आलार्म राखेको थिए। अचम्म! अलार्मको पहिलो टुइटुइमै म
बिउझिएँ। जुरूक्क उठीहाले। मर्निङवाकमा जानपरो भनेर निस्के। छ बजेतिर घर
फर्किसकेको थिए। लैजानपर्ने सामन के पो थ्यो र? झोलामा एकजोर कपडा हालेर
जुत्तासुत्ता लगाई तयार भएँ। आमाले टीका लगाइदिनुभो, बाले पैसाको जतन गर्न र
मान्छेहरूबाट सतर्क बन्न आदेश दिनुभो। आमाले ला बाटोमा के पर्ला कसो पर्ला
भन्दै थप रू.५०० दिनुभो। मन्दमुस्कानसित त्यो पैसा पनि समाएँ। ''मोबाइल
लैजान्छस्?,लैजा ला!'' भन्दै घरको भएको एउटा मोबाइल बाले मलाई नै
दिनुभो,मैले खोजेकै त्यही थियो। दीपा अण्टी पनि टुप्लुक्क आइपुग्नुभो।
हिजोजस्तो निराश चेहरा देखिएको थिएन उहाँको। 'पुग्नेबित्तिकै फोन गर!'
भन्नुभयो। सबैको सहानुभुति र आशिर्वाद बोकेर म मोटरबाटो उक्लिएँ।
८. गाडी समयमै आयो,चढियो। कस्तो भाग्य लास्ट भएपनि एउटा सिट खाली रहेछ, लौ
मलाई चिठ्ठै पर्यो। खले दाइले आएर सोधे-''कहाँ पुग्नुछ?'' ''काठमाण्डु!''
'ए ल ल भाडा दिनुस्।' मैले नआत्तिदै सोधे- कति बजे पुगिन्छ? 'सात बजे!'
जवाफ आयो। 'ल ल भाडा मिलाइहालौं!' 'कति हो?' ''सात सय'' 'म त विद्यार्थी
हो' ''ए ल ल साढे छ सय दिनुस् नत, कार्ड पनि देखाउनुस्। '' ३३ प्रतिशत छुट
पाइन्छ भन्ने त थाहा थियो तर धेरै कचकच नगरी साढे छ सय रूपे र परिचयपत्र
पनि बुझाएँ! हेरेजस्तो गर्यो र उ हिडिहाल्यो, नक्कली कार्डले पचास रूपैया
भएपनि छुट पाएकोमा मनमनै शिव दाइलाई धन्यवाद दिएँ। बसको स्पीकरमा गीतहरू
बजि नै रहेका थिए। थोरबहुत संगीतको पारखी म अलिअलि गुनगुनाउन थाले
,संगीतसँगै। छेउमै बसेकी एउटी आइमाइले आँखा तरेपछि चूप लाग्न पर्ने अवश्था
आयो।
९. १२ बजेतिर बसबाट ओर्लेर खाना खाँदै थिए। मोबाइलमा घण्टी बज्यो। फोन
उठाएँ, ''म शेखर हो, काठमाण्डु आइपुगेँ, तिमी आउदैछौ भन्थीन् दीपाले, ल म
बसपार्कको Everest Hotel मा बसेको छु, तिमी पनि यही आऊ , अहिले मैले यही
नंवर चलाइरहेको छु।'' उनले यति भनेर एकै सासमा कुरा सके र मैले हवस् भन्न
नपाउदै फेरी फोन काटियो। मैले नंवर यसो चिहाएर हेरे र फेरी खानमा व्यस्त
भइयो। फेरी बस चढियो। एक घण्टाजतिको यात्रापछि कति बजेछ त भनी मोबाइल
निकाल्न गोजी छामेको! ल.. ल.. ल.. मोबाइल त गोजीमा हाल्न नै बिर्सेछ। लौ न
नि! पर्यो बित्यास! उही सँगैकी अण्टीसँग मोबाइल मागेर आफ्नो नंवरमा डायल
गरे। धन्न! फोन उठ्यो।''हेलो कसलाई खोज्नुभाको?''उताबाट सोधियो। मैले अब के
भन्ने मेसो पाइनँ।मैले ''यो मेरो मोबाइल हो, तपाइ को हो कहाँ हुनुहुन्छ?''
भने। ''के रे? नचाहिने कुरो त नगरौ न अर्काको मोबाइलमा फोन गरेर जे पायो
त्यही भन्ने?'' म झसङ्ग भए र छ्यास्स फोन काटे।नंवर गौरसित हेर!ठीकै त छ।
फेरी डायल गरे।दूर्भाग्य यतिञ्जेल मोबाइल स्वीच अफ गरिसकिएको थियो। मलाई
लाग्यो हिजो रिचार्ज गरेको २०० रूपे फोन गरेर भ्यायो होला अनि अहिले बल्ल
स्वीच अफ गर्यो।

१०. मोबाइल हराइनै सकेपछि के गरौं र कसो गरौं? औडाहा र छटपटी हुन
थाल्यो, छिटछिट पसिना आयो। हतपत अंकलको नंवर सम्झिन खोजे। उ बेलाको दिमाग
टाठै थियो, पेन निकालेर हातमा नंवर लेखे। सवा सातमा बसले बसपार्क पुर्यायो।
म हतारहतार नजिकको पिसिओमा गएर अंकललाई फोन लगाएँ। धन्न! नंवर त्यही नै
रहेछ। उहाँले आफू बसेको होटलको लोकेसन र रूम नंवर दिनुभो। म बल्लतल्ल सो
होटलमा पुगे र दिइएको रूमको ढोका नक गरे। भित्रबाट ''को हो?'' भनियो। स्वर
चिनेजस्तो लागेकाले ''म हुँ अंकल भने।'' एक हातले मोवाइल कानमा लगाएर फोन
गर्दै गरेका अंकलले मुखले टोकेर ढोका खोलेको दृष्य अपत्यारिलो लाग्यो।
११.मैले ध्यानसित हेरे, हँ उनको एउटा हात मेरो आँखाले देखेनँ,आँखा मिचे,
देखिनँ। ओहो! के भयो होला भन्ने लाग्यो, उनले बेडमा बस्न ईशारा दिए। ''ल
कर्ण आइपुग्यो,फोन राखे है'' भन्दै फोन काटे,दीपा अण्टीलाई रैछ फोन गरेको।
म आश्चर्यचकित बनेर एकटकका साथ उनलाई हेरिरहँदा उनले नबुझ्ने कुरै थिएन।
उनले फूर्तिसाथ भने- ''नआत्तेऊ मलाई केही भएको छैन, डेढमहिनाअघिमात्र यस्तो
भयो तर खास्सै दु:ख लागेको छैन मलाई!'' मेरो जिज्ञासा रह्यो- ''यो सब
कसरी?'' उनले मेरो आँखामा आँखा मिलाए तर उनको अनुहारमा पश्चाताप या दु:खको
कुनै संकेत मलाई मिलिरहेको थिएन। उनले भन्न थाले- ''बाबु मैले एउटा
कम्पनीको सेक्यरिटी गार्डको रूपमा काम गरिरहेको थिए। बस्ने खाने व्यवश्था
कम्पनीले नै गरेको थियो। मालिकले बेलाबेलामा मलाई आफ्नो घरमा लैजान्थ्यो र
उसले घरनजिकैको कृत्रिम पोखरीमा माछाहरू पालेको थियो। तीनै माछाहरू मार्नका
निम्ति मलाई उसले त्यहाँ लैजान्थ्यो। दूर्घटना हुनभन्दा पहिला मैले जाल
हानेर नै माछा मारिरहेको थिए। त्यो दिन मालिकले भोलिको आफ्नो म्यारिज
एनिभर्सरी का निम्ति सबै माछाहरू मार्ने र पार्टी खुवाउने योजना बनाएको
रहेछ। जालबाट असहज होला भन्ठानेर उसले हाते बमहरूको व्यवश्था गरेको रहेछ,
मैले एउटा बम त सजिलै पड्काएँ,तर दोश्रो पड्काउन खोज्दा त्यो मेरो हातमै
पड्कियो, म अचेत पल्टिएँ। मलाई डेढ महिनासम्म हस्पिटलमै उपचार गरियो र
अहिले त सबै ठीक भइसक्यो। एउटा हात जसले चालिस बर्ष मलाई काम दियो,मैले
त्यो हात गुमाएँ। मन अमिलो भयो। 'बूढाले विदेशमा गएर पैसा त कमाए,अरूको
सुरक्षा पनि गरे तर आफ्नै सुरक्षा भने गर्न सकेनन्। साहेद आँसुहरू झर्न बल
गरिरहेका थिए तर अंकलको निडर र अझै हँसिलो मुहारको डर मानेर तिनीहरू थामिन
बाध्य थिए। उहाँले काटिएको हात खोलेर देखाउनुभो। मैले एकै झल्को हेरे तर
अर्कोपल्ट हेर्ने साहस जुटाउन सकिनँ। अंकलले फेरी भन्न थाल्नुभो- ''हेर
कर्ण! म यो हालतमा एक्लै घर जाने आँट गर्न सकेको थिएन। मैले आजसम्म कसैलाई
पनि,दीपालाई समेत, यसबारे भनेकै छैन। आशा छ सबैकुरा उतै गएर भन्नेछु, सबैले
सामान्य रूपमै लिनेछन्। सब कुरा ठीक हुनेछ। ४० वर्ष पुगियो तर बल्ल बुद्धी
फिरेजस्तो लाग्दैछ। कर्ण! अब त म गाउँमै गएर व्यवसाय गर्ने सोचमा छु। मैले
कुखुरापालनको योजना बनाएको छु। दुइ-चार जना अरूलाई नि रोजगारी हुन्छ।
छोराछोरी छैनन् त के भो? यसमा मेरो कुनै गुनासो छैन,गाउँको टुहुरो केटो
अमितलाई धर्मपुत्र ग्रहण गर्ने बिचार छ। फेरी तिमीहरू तीन भाइ पनि आफ्नै
जस्ता त छौ नि!'' मैले मुण्टो हल्लाएर हो हो भने। ''म त आफूलाई भाग्यमानी
ठान्दछु कर्ण! विदेशमा हात गुमाए तर ज्यान त गुमाउन परेन नि! म यसमै खुशी
छु। दिनदिनै खवरहरू आउछ, फलानोलाई यस्तो भयो ,उस्तो भयो भन्दै! कठै ती
बिचरा! म त तिनीहरूभन्दा कति हो कति भाग्यमानी! ती बिचराहरूको प्राण त्यो
विदेशी भूमीमा कसरी गयो,सम्झिदा उदेक लाग्छ। मैले त कमसेकम आफ्नो प्राण
आफ्नै माटोमा मिलाउन त पाएँ। धन्य छु म। मैले अन्तिम सास त्यही मिलाउने
जहाँ मैले यसको सुरूवात गरे। मेरा पाइलाहरू बूढेसकालमा त्यही लर्खराउनेछन्
जहाँ मैले टुकुटुकु हिड्न सिके!'' उहाँ धेरै भावुक बन्नुभयो। उहाँले रक्सी
पिउनुभएको थियो,गन्धले त्यसै भन्दै थियो। तर जो कुरा उहाँ बोलिरहनुभएको
थियो ,ती उहाँका अन्तस्करणबाट प्रसारित ध्वनीहरू थिए। उहाँ साँच्चै नै
राष्ट्रवादी विचारले ओतप्रोत भइसक्नुभएको थियो। उहाँका ती भोगाइले मेरो गला
अवरूद्ध थिए। म न त कुनै प्रश्न गर्न सकिरहेको थिए न त अंकलको मुखमा
हेर्न सकिरहेको थिए। बस् केवल चूपचाप घोसेमुण्टो लाएर उहाँका स्वतस्फुर्त
वाणीहरू सुन्दै थिए। उहाँले कुरा थप्दै जानुभयो- ''बास्तवमा नेपाल देश धनी
छ, हामी नेपाली मात्र गरीब छौ। हामी सोचका गरीब छौ, बुद्धीका गरीब छौ,
विवेकमा हाम्रो भोटताल्चा लागेको छ। हामीले आफ्नै हीरा र मोती चिन्न सकेका
छैनौ र फलामको आशमा विदेशीको गुलामी गर्दैछौ। हामी कस्तुरी नै हौ जो आफ्नै
शरीरबाट निस्किएको सुगन्धको स्रोतको खोजीमा भड्किरहेका छौ। अमेरिका,बेलायत
लाई कसैले बनाइदिएको होइन, उनीहरू आफै आफ्नै नङ्ग्रा खियाएर बनाएका
हुन्!'' ''बुझ्यौ कर्ण अब त म सबैलाई आफ्नो जिन्दगीको सबै समय आफ्नै
माटोको सिँगारपटारमा लगाउन बल गर्नेछु। उनीहरूको लागि म सधै प्रेरणाको
स्रोत बन्ने प्रयाश गर्नेछु।'' मैले मनमनै सोचे-''पढेर भन्दा परेर नै धेरै
कुरा सिकिंदो रहेछ, हे भगवान् अंकलको सदीक्षा पूरा होस्। '' मैले मनमनै
भगवान्लाई सम्झिएँ।

१२. '' ल कर्ण उठ अब त घर हिड्ने हो'' सामन मिलाउन थालिसक्नुभएका अंकलले
भन्नुभयो, म लाज मान्दै हत्तपत्त उठे। होटेलको चार्ज तिरीवरी हामी होटलबाट
बाहिरियौं,बसपार्क हान्नियौ। टिकट काट्नुभयो अंकलले, चियानास्ता पनि
खायौं। मेरो २ हजार तह लगाउनका लागि पर्याप्त समयको अभाव थियो। एकमन त पैसा
बचेकोमा रमाएकै थियो। हामी बसमा चढ्यौ। अहो! कति धुँवा र धुलो उडेको मैले
सिटनेरको झ्याल बन्द गरे। धूलो,धुँवा र प्रदूषणको पनि यो त राजधानी नै हो
है अंकल! अंकल फिस्स हाँस्नुभो। बस चल्न शुरू गर्यो।आफ्नो मोबाइल
हराइसकेकाले अंकलको गोजीको मोबाइलतिर मेरा आँखा ठोक्किरहेका थिए। अंकलले
संकेत बुझ्नुभएछ, इयरफोनसहितको मोवाइल निकालेर दिनुभो। अब म खोजीखोजी
भिडियो हेर्न थाले। त्यस्तै १ बजेतिर पहिले खाना खाएको ठाउँमा नै बसले खाना
ख्वाउन रोक्यो। मनमा मोवाइल पाइ पो हालिन्छ कि भन्ने झिनो आश अझै थियो।
मैले अंकललाई उ त्यही होटेलमा हो भनेर इशारा गरे। हामी त्यही गयौ।अंकलले
यसोयसो रैछ,केहो कसो हो भनेर होटलमालिकलाई सोध्नुभो तर उसले आफू त्यसबारे
बेखवर रहेको जानकारी दियो। मलाई एकदुइवटा सवाल गर्न मनलागेको थियो तर
अंकलले चूप रहन संकेत दिनुभो। खाना त्यही खाइयो,अंकलले एकप्याक भर्जिन पनि
लिनुभयो, मैले श्रीफ आँखाले नखानोस् भने तर मुखबाट आवाज निस्केन। हामी फेरी
बस चढ्यौ।
१३.घर पुग्न३घण्टाजतिको बाटो बाँकी थियो। हामी गाडीभित्र सिटमै
थियौ।वैशाखको गर्मीले अंकललाई औडाहा भएछ, भन्नुभो-कर्ण हिड छतमा बसौ,हावा त
खान पाइन्छ। मैले मौनस्वीकृती दिए। गाडी रोकियो र हामी छतमा चढ्यौ। छतमा
बीच बाटोमा गाडी चढेकाहरू टन्नै थिए,अंकल उनीहरूसितै गफिन थाल्नुभो। म भने
फेरी भिडियो हेर्न थाले। एक्कासी सिर्र सिट्ठी बज्यो,गाडी रोकियो।पछाडि
फर्किए, हँ...अंकल बसेको ठाउमा हुनुहुन्थेन। यस्सो भुइमा हेरे,अंकल त्यही
लम्पसार पर्नुभएको थियो।उहाँले एउटा हातले सुर्ती मिच्दै हुनुहुदोरहेछ,
त्यही क्रममा साइडबाट छतमा भएका मान्छेहरूलाई छुने गरी आएको रूखको हाँगोले
उहाँलाई पछारेछ। मान्छेहरू रामराम भन्दै थिए।हतारमा भुँइ झरे।देख्नेगरी चोट
लागेको थिएन,रगत बगेको नि थिएन तर उहाँलाई बजारिदा औधी पीडा भएछ,उहाँ
बेहोस हुनुभएको थियो। नजिकमा हस्पिटल थिएन,सदरमुकाम नै लैजानपर्ने। उहाँलाई
तुरून्त सोही बसमा हालियो,जतिसक्यो चाँडो उहाँलाई हस्पिटल लैजानुथ्यो, म
उहाँलाई काखमा लिएर के गरौ र कसो गरौको दोधारमा होस नै उड्न लागेको
अवश्थामा थिए। हाम्रो घर सदरमुकामभन्दा १५ मिनेटअगावै बाटैमा पर्थ्यो। मैले
दीपा अण्टीलाई फोन गरे र फोन बालाई दिन भने। बालाई मैले सबैकुरा भने।
बेहोस मात्र हुनुभाको हो,खासै केही हैन,नआत्तिनोस, बाटोमा आएर बस्नुस सँगै
हस्पिटल लैजाउला भने। बाले हुन्छ भनेर फोन काट्नुभो। मैले बालाई त आश्वस्त
बनाए तर आफै भने दोधारमै थिए,अंकलले अझैसम्म पनि शरीरको कुनै भाग
चलाउनुभएको थिएन। मलाई दीपा अण्टीलाई दिएको बाचा अनि शेखर अंकलको सपना
झलझली याद आइरहेको थियो। के हुने होला भन्ने कसैले अनुमान गर्न सकेको थिएन।
बल्लतल्ल हाम्रो घर आइपुग्यो।दीपा अण्टी बाटोमा रूदै बस्नुभएको थियो,बा र
आमाले भने सम्झाउदै हुनुहुन्थ्यो। हतारहतार उहाँहरू नि पिकअप हुनुभो र
सदरमुकाम पुगेपछि बसबाट ओर्लाएर तुरून्त हस्पटल पुर्यायौ अंकललाई।
१४. अपरेसन थिएटरमा उहाँ हुनुहुन्थ्यो,सबै कुरो डाक्टरको जिम्मा लगाएर हामी
बाहिर बसेका थियौ। दीपा अण्टी रूदारूदा बेहोस हुने अवश्थामा हुनुहुन्थ्यो,
हामी तीन जना पनि इन्तु न चिन्तु थियौ। सबैले संभवत: भगवानलाई नै
सम्झिरहेका थियौ। करिब १ घण्टापछि डाक्टर निक्ले र भने- ''होस आयो,भेट्न
सक्नुहुन्छ!'' हामी सबैले सास यसरी फेर्यौ कि मानौ यतिञ्जेल सास रोकेर
बसेका थियौ। भित्र पस्यौ,अंकल मुस्काउनुभो। 'मलाई केही हुन्न,ढुक्क हुनुस्'
बातिर फर्केर उहाँले भन्नुभो। 'के छ डार्लिङ?' दीपा अण्टीलाई झसङ्ग
बनाउनेगरी अंकलले भन्नुभो र अण्टी फेरी एकपल्ट लाजले रातीपिरी हुनुभो।
१५. दुइदिनको हस्पिटल उपचारपछि अंकल सकुशल घर फिर्ने हुनुभो,उहाँलाई
डिस्चार्ज गरियो। यो आजभन्दा ४ वर्ष अगाडिको घटना हो। अंकलले मलाई सुनाएझै
अहिले उहाँ गाउमै कुखुरापालन गर्नुहुदैछ। अमितलाई धर्मपुत्र बनाउनभएको छ। र
सबैभन्दा खुशीको कुरो १ वर्षअघि प्यारी बहिनी शुष्मा पनि जन्माउनुभयो है
अण्टीले। आखिर मेरो शंका सही नै ठहरिएझै मलाई लाग्यो (मलाई अंकल धेरैजसो
समय घरमा नबस्ने भएकैले छोराछोरी नजन्मिएको जस्तो लाग्थ्यो ;))। आजकल
अण्टीले मलाई जिस्काउनुहुन्छ-''कर्ण तिम्रो अंकललाई उतिखेर केही भएको भए त
तिमीसँग न त कान हुन्थ्यो न त तिमी बिहे नै गर्न पाउथ्यौ!'' मैले पनि मुख
बिगार्दै भन्छु-''कान त म सँग छदैछ, बाँकी एउटी दुलही हो, त्यो त तपाइले नै
खोज्दिनपर्छ र बिहे खर्च पनि तपाइहरूले नै बेहोर्नपर्छ है!''.......
समाप्त!
...........
यो काल्पनिक कथा हो, पात्रहरू पनि
काल्पनिक हुन्।
कसैको जीवनसँग मेल खाएमा लेखक रामराम मात्र भन्न सक्छन्,
काँध थाप्न सक्दैनन्।
धन्यवाद!!!!!