Tuesday, November 26, 2013

नमूना गजल ;)

हिड्दै थियो गलेछ।
लौ न ऊ त ढलेछ।।

पेलियो प्रेमद्वारा।
आगो बिनै जलेछ।।

अंगुर फल्छ भन्थ्यो। 
ऐजेरू  पो    पलेछ।।

निष्ठुरी  रैछ माया।
छल्नुसम्म छलेछ।।

निसास्सियो बिचरा।
हावा अन्तै  चलेछ।।

Tuesday, August 20, 2013

“गुटखा गुरू” [कथा]

१. _____ स्कुल छुट्टी हुनासाथ हाम्फाल्दै अनिल डेरातिर हान्नियो। डेरा पुग्नासाथ ढोका खोलिवरी अस्तव्यस्त बेडको सिरकमाथि झोला मिल्कायो। ड्रेस फेर्नु बाँकि नै थियो, उसको नजर एकाएक अब एक कुनामा राखिएको झोलामा पर्यो। झोला खोलेर उसले त्यसभित्रको छाताको खोल निकाल्यो, जसमा उसको भएजतिको नगद श्रीसम्पत्ति थियो। फुटकरसमेत जोडेर गन्दा जम्माजम्मी रू.७५५ भयो। के शुर चल्यो कुन्नी? उसले जम्मै पैसा गोजीमा हुल्यो र ड्रेसै नफेरी मोबाइल गोजीमा कोचेर नजिकैको होटलतिर लम्क्यो। दिउसभरिको भोक खपेको पेटको पूजा गर्ने बेला उसको यही थियो। मटर-समोसा मगाएर एक चम्मच खान भ्याको थ्यो, फोनमा रिङटोन बज्यो-Enrique को '....सम्बडिज मि ओ एइ'! उसकै दाजू अजयले गरेको रैछ। फोन उठायो,उताबाट सुनियो-“ओए? काँ छस् त? बालाई सञ्चो नभएर जिल्ला-हस्पिटल ल्याछम्। तँ झट्टै आइज त तल हस्पिटलमा।” अनिलले 'हुन्छ' भन्यो,उताबाट फोन काटियो। ऊ अब होटेलवालालाई पैसो भोलि तिरौला भन्दै त्यहाँबाट उड्यो हस्पिटलतिर। बाटैमा संजोगले भरत देखा पर्यो,उनीहरू एउटै गाउँको अनि एउटै स्कुलका सहपाठी। भरतले औपचारिकताबिना नै भनिहाल्यो-“कता हिडिस् यार? ओए छ भने गोडा पाँच सय सापट दे न यार,चाहियाथ्यो।” अनिल कड्कियो-“आफ्नो ह्याँ ड्याड बिमारी भएर हस्पिटल आउनुभाछ र उतै जान लाको, पैसा बरू छ भने मलाइ दे बुझिस्?” भरत वाल्ल पर्यो र भन्यो-“ ओ सरी यार! टाइम भको भए त म पनि जान्थे, ल ल ठीकै छ चाँडो जा।...ए ए सुन् त पैसा त माग्न भएन क्यारे, बरू एउटा भोला(गुटखा) त ख्वान यार,आफू त भुक्का भाछु यार आज त!” नजिकैको पसलमा छिरेर अनिलले दश रूपैया तिरी ४ वटा भोला किन्यो,खासमा उसलाई नि तलतल लागिराथ्यो। एक प्याकेट भोला खोलेर मुखाँ हाल्यो अनि अर्को प्याकेट भरतको हातमा थमाउँदै उसले हकार्यो-“ तँ त सधैको भुक्का त हो नि! कैल्यै पैसो छ भन्या सुनिया छैन क्यारे! ल ल म हिडे, तँ आफ्नो बाटो लाग्!” अनिलको छोटाछोटा पाइला छिटोछिटो चल्न थाले। ____________________________________________________________________________________२. _____ हस्पिटलमा पुगेर सोधपुछ गरी उ सिधै बेड नं १६ मा पुग्यो। त्यहाँ उसका बा बेडमा पल्टेका थिए। दाजू चाहि छैवैमा बसेको थियो। अनिलले दाजूलाई सोध्यो -के भयो र बालाई? “तेरो बालाई केही भा छैन,नडरा!” बेडमा पल्टेका बाले आफै जवाफ दिए। उसको दाजूले भन्यो-“ हिजोदेखि जो मृगोलानिर दुखिराछ भन्नुभाथ्यो,अघि डाक्टरले चेक गर्याथ्यो-पत्थरी छ अरे! भोलि अपरेसन गरेर निकाल्ने भनेको छ।” अनिलले दाजुको मुखाँ ट्वाल्ल परेर हेर्दैथ्यो, उसका दाजूले जुरुक्क उठेर एक थप्पड दिए अनिललाई। “साले भोला पो खाँदो रहेछ।” उसको दाजू जङ्गिए। अनिलले पछाडि फर्केर झ्यालबाट थुक्यो अनि अरु बाँकि दुइ प्याकेट भोला-गुटखा पनि झ्यालबाटै मिल्कायो। “ए विद्या यो त अम्मली पो भैसकेछ, तँलाई चिर्कोट! पढ्न भनेर पठाको त यस्तोयस्तो पो सिकेछ त हँ यसले त!” उसको दाजूले एक चड्कन फेरि कसेरै दिए। उसका दुबै गाला राता भए। यतिञ्जेल पल्टिराखेका उसका बा पनि उठेर बसे,उनको पनि पारो तात्यो। अजय(अनिलको दाइ) पट्टी फर्केर उनले दाह्रा किट्दै उनले भने-“ एक थप्पड अर्को पनि हान् यसलाई। घरबाट आउनजान गाह्रो भो ,बजारमै बसेर पढ्यो भने छोरोले राम्ररी एस.एल.सी. पास गर्ला भनेको त यो त पूरै लफङ्गो पो भएछ त!” अनिल सुक्कसुक्क गर्न थाल्यो। टिठ लाग्यो क्यारे अजयले अर्को थप्पड चाहि हानेनन्। उसका बाले उही पुरानो डाइलगमा हप्काएँ-“अर्को चोटी यस्तो भेट्टाए भने तँलाइ झुण्ड्याएर मार्छु बुझिस्?” अनिल केही नि बोलेन ,एकछिन सबै मौन भए। एकछिनपछि अनिलका बा बोले-“ए अनिल तँ जा कोठामा, ह्याँ तेरो दाइ छदैछ, गएर खाना बनाएर खा, राम्रोसँग पढ्नु! दायाँबायाँ हैन नि! ह्या मेरो केही नि चिन्ता लिन पर्दैन,बरू भोलि नि यै टाइममा आइज!” अनिल 'हवस्' भन्दै कोठामा फर्कियो। ____________________________________________________________________________________३.______ अनिल बिहान खाना बनाइ खाइवरी स्कुल जान्थ्यो र स्कुलबाट फर्केर सिधै हस्पिटलमा जान्थ्यो बालाई भेट्न। चार दिनसम्म यही क्रम दोहोरियो। पाँचौ दिन साँझ नै उसका बा डिस्चार्ज हुनुभो, उनीहरू तिनैजना त्यो रात अनिलको कोठामा खानासाना खाएर सुते। अर्को दिन बिहानको खाना खाएर दुइ बाउछोरा घरतिर लागे भने अनिल चाहि स्कुल। अनिलले भरतको सङ्गत छोडिसकेको थियो। क्लासमा पनि उसित बस्थेन ,बोल्न पनि छोडिसकेको थियो। कारण प्रष्ट थियो भरतकै संगतमा लागेर अनिलले गुटखा खान सिकेको थियो र त्यसकै कारण उसले चड्कन खानुपर्यो। त्यो दिन स्कुलबाट फर्कदा अनिल अगाडिअगाडि र भरत पछाडिपछाडि हिडिरहेका थिए। भरतले पछाडिबाट बोलायो-“ओए अनिल रूक् न!” अनिल एकछिन रोकियो। भरत छेवैमा आएर भन्यो-“के हो यार? तँ त मसँग बटारिदै हिन्छस् त? के भयो हँ? ह्या जे सुकै होस्,सब कुरा बिर्सिदे। ..ए ए सुन् त एउटा भोला ख्वान यार,आज त म त भुक्का भाछु यार,सुक्को छैन।” अनिलले दाँत बजाउदै एक मुक्का भरतको काँधमा बजार्यो र भन्यो-“साले तैले यै भोला खान सिकाउदा दाइको पिटाइ खान परो। अब त इस् ख्वाउचु तँ जाबोलाई, तँ साले साइड लाग्!” भरत पनि रिसाउदै जङ्गियो-“ अनि दाइको रीस तैले ममाथि पोखेको? साले मलाइ हिर्काइस् हैन? अलि अस्ति मैले तँ बाट सापट लिएको दुइ हजार रूप्पे अब तैले नपाउने भइस्, पैसा पच्, तँ पनि साइड लागे हुन्छ भाइ अब!” यति भनेर भरत रन्केर गयो। अनिललाई पर्नु पीर पर्यो, उसले मनमनै सोच्यो-“हे भगवान्! यो 'गुटखा गुरु'ले त डुबाउनु डुबायो नि! उता दाइको कुटाइ खान परो, यता पैसो पनि दिन्न भन्च। गोजीमा पैसो पनि सकिंदै गाछ, घरबाट मगाऊँ भने अस्ति भर्खर तीन हजार ल्याइएकै हो,फेरि बाको अपरेसन गर्दा टन्नै खर्च भो, घरमा पनि काँ पैसा होला र? यो सालेले दिए त यो महिनाको खर्च त टर्थ्यो। अब यसलाई के भनेर फकाउनु नि?” ______________________________समाप्त____________________________________________

Monday, June 17, 2013

नलेखिएको गोरे [लघुकथा]

[१] _______________ आफ्नो बा र कान्छीआमासित एउटा सानो झुप्रोमा बस्ने गोरे गएको बैसाखमा ५ बर्षको भैसकेको थियो । गोरेलाई आफ्नी जन्म दिने आमाको अनुहारसम्म पनि याद थिएन। याद पनि कसरी होस् त? ऊ दुइ बर्ष नपुग्दै पाठेघरको क्यान्सरबाट बितेकी रहिछन् उसकी आमा। आमा कस्ती थिइन् कुन्नी तर कान्छीआमा चाहि साह्रै कर्कश स्वभावकी। अह्राएको काम नगर्दा, एकछिन कतै खेलेर आउँदा गोरेलाई उनले आफ्नो नजिकमा जे भेट्टाउथिन्,त्यसैले हिर्काउथिन्। नजिक परे उनको गोरेमाथि थप्पड,लात दुबै चल्न शुरु हुन्थ्यो। यसरी भकुरिदा पनि गोरे टिलपिल आँसु मात्र झार्थ्यो तर डाँको कहिल्यै छोड्थेन, किनकि त्यसरी डाँको छोडेर रोएमा मारिदिने धम्की कान्छीआमाले उहिल्यै दिइसकेकी थिइन्। पाद्न त पाद्ने तर गन्ध भने लुकाउन खोज्ने कान्छीआमाको बानी थियो, आखिर छरछिमेकीले के भन्ला भन्ने थोरै भएपनि उनलाई हेक्का थियो।संयोगले उनको अझैसम्म कुनै बच्चा हुन सकेको थिएन। ______________________________ [२] _______________ एकदिन बेलुकीपख गोरेका बाका दुइ बुढाबुढी मजदूरीबाट फर्के। ओहो! गोरेले आज पानी भरेर राख्न भुसुक्क बिर्सेछ, साथीहरूसँग खेल्नमा ब्यस्त थियो क्यारे। गोरेले यो कुरा कान्छीआमाको अनुहार हेरेर चाल पायो र दुइटा जर्किन टिपेर बाहिर निक्लन के खोजेको थियो। ''हँ! अझसम्म पानी भरेको छैनस्?'' कान्छीआमाले मुख पनि चलाइन्, एक लात पनि चलाइन्। गोरे हतारहतार गयो र पानी लिएर आयो। '' यत्ति पानीले पुग्छ? जाँ यो पानी गाग्रीमा खनाएर फेरी ले'र आइज!'' गोरेले रून्चे स्वरमा भन्यो -''हुन्छ।'' यतिञ्जेल मुकदर्शक बनेका उसले बाले बल्ल मुख फोरे-''ओए खच्चड! के बिरालोले म्याउँ गरेझै बोलेको? खान त दे'कै छ, खाको जसरी बोल् न!'' बाउको एक वाण दाहिने कान छेडेर देब्रे कानबाट निस्कन नपाउदै ऊ बाहिर निक्ल्यो र फेरि पानी बोकी आयो। ________________________________________ [३] _______________ एक दिन बिहानै कान्छीआमा र कान्छीआमाका पोइ सधैझै मजदूरीमा निस्किए। गोरेको पेट कटकट दुखिरहेको थियो, हिजोको बाँसी भातले होला साहेद! गोरे उठेर बाले छोडिराखेको भात खान खोज्दैथ्यो। अचानक मलद्वारबाट केही हुलुत्त चुहेजस्तो लाग्यो, यसो छाम्छ त पहेंलो पातलो सिँगानझै आची! ऊ पाखातिर गयो। फर्केर आएर भातको कचौरा समाको के थियो फेरि त्यस्तै हुन खोज्यो, ऊ फरि दौडेर पाखातिर! आउछ-जान्छ, आउछ-जान्छ दोहोरी पो चल्न थाल्यो अब त! एकछिनपछि ऊ अचेत भएर घरभित्रै पल्टियो। दिनभरि गोरेको घरमा कोही आएनन्। साँझपख गोरेका बाहरू फर्के। ''हेर हेर घरभित्रै छेर्दै बसेको यो चुरेनीको औलात!'' कर्कश बाणी निकाल्दै कान्छीआमाले घिसारेर गोरेलाई बाहिर पुर्याइन्। सरसफाइ गरेर कान्छीआमा खान पकाउन लागिन्, बा भने खाटमा पल्टिए। एकछिनपछि कान्छीआमाले चिच्याईन-''ए बुढा ! जाउ त हेर बाहिर , चुरेनीको छोरो मरि पो सक्यो कि?'' बा चाहि बिउँझेर बाहिर गएर हेरे। नाडी छामे, मुटु छामे! अर्धबेहोसझै आत्तिएर बुढीलाई कराए -'' ए बुढी! यो त मरिसकेछ, सास पनि छैन, मुटु पनि चल्दैन, हरे..... राम!'' _______________समाप्त_______________

Saturday, June 15, 2013

एउटा यस्तो प्रेम कथा

१.'दाजू राधा घरमा छैने?' आवाज सुनेर यसो हेरेको माया आएकी रैछे। 'छे-छे कोठामा होली, उतै जाउ' मैले इशारा दिए। माया बहिनीकी साथी थिई, बेलाबेलामा हाम्रो घरमा आइरहन्थी। उनीहरूको पढ्ने स्कुल फरक थियो तर गाउँका उनीहरू राम्रै साथी थिए। मङ्गोल अनुहार, मिलेको जीउ थियो मायाको। भर्खर दशमा पढ्दै गरेकी ऊ निकै चञ्चले थिई, चुलबुले थिई। म सँग त्यति बोल्दिनथी ऊ, तर पनि उसलाई देख्दा किन-किन दिलमा खलबली भएझै लाग्थ्यो, नशाहरू मन्द भैदिन्थे। माया मेरै बहिनीको उमेरकी थिई, ऊ भन्दा २ बर्ष जेठो म भने त्यतिखेर ११ मा पढ्दै थिए। एक हिसाबले म मायाको मायामा हराउन थालिसकेको थिए, मायाले मलाइ आफूतिर खिच्न सफल भैसकेकी थिई। ऊ हाम्रो घरमा बहिनी खोज्दै आइरहन्थी र अनपेक्षित रूपमा मलाइ 'दाजू' भनेर बोलाउथी। मलाइ भने किन-किन उसले दाजू नभनिदिए हुन्थ्यो झै लाग्थ्यो,'उसले पनि नचाहेरै दाजू भनिरहेकी छे र त बोलीमा अस्वाभाविकता देखिएको छ' मनमा यस्तै भान हुन्थ्यो। मायाको एउटा अनौठो बानी के थियो भने ऊ जब म सँग कहिलेकाही केही कुरा गर्थी तब उसको सिर्फ १ नजर ममा पर्दा वरपरका हरेक वस्तुमा दश नजर पर्थ्यो। लाजले हो या उसको बानी नै यस्तो, मैले मेसो पाउदिनथे। २. 'दा...जू राधा छे हैन त?' ऊ एकदिन दिउँसोतिर फेरी आई। 'अहँ आज त मामाघर गाकी छै बिहानै।' उसले आश्चर्यमा नाकमुख-आँखा जम्मै खुम्च्याई। 'छ्या! आज झन् सपिङ जानुथ्यो, यो राधालाई नि यै बेलामा..!' एकछिन रोकिएर उसले भनी-'दाजू तपैको बजार जाने काम त छैन नि है?' मैले हत्तपत्त 'छ छ' भने,बजारको साथी राजुले भेट्न बोलाएको थियो मलाइ हिजो। 'ए ए ए जाम् हिन्नु उसो'भे, ढिला हुन थाल्यो।' घरमा आमाबा नि हुनुहुन्थेन। हतारहतार तयार भई लुरूलुरू मायासँगै बजार गए। बाटोमा त्यति धेरै कुरा भएन। ऊ सिधै 'लेडिज फेन्सी' मा पसी, म पनि पछिपछि जानैपर्यो।उसले एक जोर सेण्डल किनी, विभिन्न कलरमा देखाइएका कुर्तातर्फ इशारा गर्दै उसले सोधी- दाजू तपैलाई कुन कलर मन पर्छ? 'किन्ने तिमी, लगाउने तिमी, आफूलाई जे कलर मन पर्छ त्यही लिउ न' मैले ठाडो उत्तर दिए। आँखा चम्काउदै उसले एउटा चूज गरी। फेन्सीबाट निक्लेर नास्ता खाइवरी हामी घरतिर फर्कियौ। 'ह्या.. राजुलाई भेट्न गाको'भे नि हुने नि! मेरो केही काम नभएको देखेर त्यत्तिकै म सँग पछि लागेर गयो भनी होली त्यल्ले!' घरमा पुगेपछि पछुतो लाग्यो। ३. एक साँझ बहिनी भान्सामा प्याज काट्दै थिई। मैले जिस्काए-'ज्वाइँसाहेब भा'भे आँसु पुछिदिन्थे होला नि है!' उसले कडा स्वरमा भनी-'अँ तपैलाई त्यो मायाले पुछिदिएमात्र!' छाती ढक्क फुल्यो। 'के भनेकी? माया रे? हेर राधा बिचार पुर्याएर बोल्। जे पायो त्यही प्याच्च नबोल है! म त फेरी!' मैले दाह्रा किट्न थाले। मैले यसरी प्रतिकार गरे कि मानौ 'मायालाई मैले त्यस्तो सोचेकै छैन र सोच्नु पनि पाप हो भन्ने मलाइ लाग्छ।' बहिनी अनपेक्षित गाली सहन नसकी रून थाली, म भने लुसुक्क कोठातिर लागे। ४. एघारको बोर्ड परीक्षा नजिकिदै थियो, केटाहरूको सङ्गतले त्यतिखेर चुरोट पिउने बानी परिसकेको थियो।एकसाँझ घरमाथिको मोटरबाटोको करिब १२ हात मुन्तिर कान्लामा उधोमुन्टी बसेर घरकाको आँखा छल्दै चुरोट पिउदै थिए। यस्सो बाटोतिर आँखा लगाए, केही पर माया आइरहेको देखे। अब भाग्नभन्दा पनि उसले नचिनोस् भन्नेतर्फ ध्यान केन्द्रीत गरे। त्यसैले आवाज नचिनिने किसिमको मोटोमोटो बनाएर यम बरालको 'माथि तारे भीर तल गह्रौ दिल..' भन्ने गीत गाए, चुरोट तान्दै। बाटोतिर पिँथ्यु फर्काएकाले अनुहार उसले देख्न पाइन र को रहेछ भनेर जान्न नलागी ऊ बाटो लागी। त्यो दिन मैले नयाँ टिसर्टको उद्घाटन गरेको थिए र त्यसबखत त्यही नै लगाएको थिए। टिसर्टकै आधारमा मायाले चिन्ली र थाहा पाउली भनेर मैले फेरी त्यो टिसर्ट कहिल्यै लगाइनँ, बाकसको कुनामा नदेखिने गरी कोचेर राखिरहे। ५. परीक्षा सकियो, सोचेजस्तो राम्रो नभएकाले बाह्रमा त राम्ररी पढ्नपर्छ भन्ने निर्णयमा पुगेको थिए। एक साँझ घरमा बाआमाबीच मेरो तर्फबाट भित्रिने बुहारीको कुरा भएजस्तो लाग्यो, नजिकै गएर बसे। आमाले भन्नुभयो-'हेर अजय जेठो भने पनि कान्छो भने पनि तै होस्, कुलको नाक राख्ने जिम्मा तेरै हो, बुहारी चाहि जात मिल्ने नै हुनुपर्छ, मगर्नी,बाहुनी गुरूङनी केही हैन, क्षेत्रीनी हुनपर्छ।' मैले ठट्टा गर्दै भने- 'लू क्षत्रीले ल्याएपछि क्षत्रीनी त भैहाल्छ नि!' आमाले अरू नि के-के कुरा गर्ने मुडमा हुनुहुन्थ्यो। म भने 'मानिस ठूलो दिलले हुन्छ, जातले हुदैन' भन्दै गाउँकै साथीकोमा जान निक्ले!.....

६. बहिनीहरूको एसएलसीको रिजल्ट आयो। बहिनी र माया दुबै छुट्टाछुट्टै स्कुलबाट फस्ट डिभिजनमा पास भए। म पनि १२ को पढाइमा अलि धेरै नै बल गरिरहेको थिए। मायाप्रतिको मायामा भने हल्का गिरावट आइरहेको मैले महसुस गर्न थालें। बहिनी र माया अब भने दुबै मैले पढिरहेकै +2मा भर्ना भए, तर पनि न त म मायासँग धेरै कुरा नै गर्थे न त उति साह्रो हाम्रो भेट नै हुन्थ्यो। आखिर एकतर्फी माया थियो। म घुसघुसेले आफैलाई बाहेक अरूलाई थाहै दिएको थिएन यो कुरा। अनि मायाले पनि म प्रति त्यस्तो व्यवहार देखाएजस्तो महसुस पनि हुन्थेन। एकोहोरो अव्यक्त प्रेममा को रमाउन सक्थ्यो र। आखिर त्यो प्रेम मेरो एकजना साथीले भनेझै 'शुरूवात नै नभई अन्त्य' हुने तरखरमा थियो, मैले त्यसलाई बचाउन प्रयाश गरिनँ, न त त्यसो गर्न आवश्यक नै ठानें। ७.बाह्रको बोर्ड परीक्षा पनि नजिकिदै थियो। एक साँझ बहिनीले भनी- ''दाजू! थाहा पाउनुभो, मायाको बिहे हुने भयो नि! एउटा पुलिससँग,घरकाले कुरा छिनेछन्।'' ''ए ठीकै भएछ नि त!' मैले त्यति आश्चर्य मानेनँ। नभन्दै त्यसको १०-११ दिनपछि मायाको बिहे भयो। म भने जाँच आएको छ भन्ने बहाना बनाएर उसको बिहेमा जाने चेष्टा गरिनँ। बिहे भएको एक महिनापछि माया आफ्नो पुलिस लोग्नेसँग बहिनीलाई भेट्न भनेर हाम्रै घरमा आई, माइती आएको मौकामा। उसले त्यतिखेर मलाई 'नमस्ते दाजू' ले सम्बोधन गरेकी थिई। उसको लोग्नेसँग नि चिनजान गराई मायाले। केही बेरपछि उनीहरू गए। मेरो कानमा भने 'नमस्ते दाजू' निकैबेर गुञ्जायमान भइरह्यो। ८.परीक्षा पनि सकियो, राम्रै भएको थियो। मायाको बिहे भएको नि ३ महिना भइसकेको थियो। अर्को एउटा एक दिन दिउँसो म घरमै इङ्ग्लिस फिल्मको डिभिडी हेर्दै बसेको थिए। मोबाइलमा फोन आयो, नयाँ नंवर थियो। ''तपाइ अजय क्षेत्री हो?'' उताबाट सोधियो। ''हजूर हो, तपाइ को होला?'' उसले भन्यो- 'म मायाको श्रीमान्, अनि के हो तपाइ त मायाको पहिलो प्रेमी रैछ नि है?' मैले सम्हालिएर भने-''यो सब तपाइ के भनिरहनुभएको छ?'' उसले कड्किदै भन्यो -''हेर्नुस् धेरै सोझो बन्न नखोज्नुस्, मैले भर्खर मायाको पुरानो डायरीमा लुकाएर राखिएको प्रेमपत्र भेटें, तपाइको नंवर पनि त्यही डायरीबाट लिएको। उसले त तपाइलाई चिठी लेखिछे, तपाइले नि लेख्नुभो होला नि मिस्टर! राम्ररी नै झाङ्गियो होला है प्रेम? त्यही भएर पो माया तपाइको घरमा जाँदी रैछ, पुरानो प्रेमीलाई भेट्न। प्रेम गर्न सक्नेले बिहे गरेको भए के फरक पर्थ्यो र? बेकारमा मलाइ तपाइको थुक चटाउनु भो हैन? किन यस्तो गरेको हजूर? मलाइ जवाफ चाहियो।'' म अवाक् बनें, उसलाई दिने उत्तर म सँग थिएन। मैले फोन काटें र स्वीच अफ गरें। मैले बहिनीलाई आफ्नो कोठामा बोलाएर सोधें-''के मायाले मलाइ माया गर्थी!'' उसले भनी-''गर्थी तर पहिला!'' मैले आश्चर्यमा सोधें-'अनि किन तिमीहरूले केही नभनेका?' बहिनीले मसिनो स्वरमा सबै कुरो भनी-''शुरूमा मायाले तपाइलाई खुबै मन पराउथी, तपैलाई हेर्नकै लागि ऊ मलाई भेट्न आउथी। हामीले एकअर्कालाई गोप्य रूपमा नन्दभाउजू सम्म पनि भन्न थालेका थियौं। तर एकदिन मैले तपैसँग मायाको नाम जोड्दा तपै खुबै रिसाउनुभो। मलाइ लाग्यो मायालाई तपाइले त्यस्तो केही सोच्नुभएको छैन र सोच्नुहुने पनि छैन। मैले यही कुरा मायालाई पनि भने। ऊ निक्कैबेर रोएकी पनि थिई। त्यसपछि उसले बिस्तारै तपाइलाई बिर्सदै गई। पछि कहिलेकाही कुरोमा कुरो चल्दा 'मेरो पहिलो प्रेम अजय हो' सम्म मात्र भन्थी। पछि त उसको बिहे पनि भइहाल्यो। '' बहिनीको कुरो सुनेर म झन् अवाक् बने। मैले कुरा त्यसो हुन सक्छ भनेर कहिल्यै कल्पनासम्म नि गरेको थिएन। अब दुइ दाजूबहिनी चूपचाप बसिरहेका थियौ। एक्कासी बहिनीकी साथी सीताले बहिनीलाई फोन गरिन्। बहिनीले 'हँ हँ' मात्र भनेको सुन्दा अचम्म लाग्यो। पछि सोधे के रहेछ भनेर। उसले भनी-''माया हिजो माइतीघर आएकी थिई, उसलाई उसको दाजूले आज बाइकबाट घर पुर्याइदिन लैजादै रहेछन्, तर सीताको घरनेर ट्रकसँग ठोक्किएर एक्सिडेन्ट भएछ, दुबैको अवश्था गम्भीर छ रे!'' अब हामी दाजूबहिनी पनि घटनास्थलतर्फ दौडियौं। तर दुर्भाग्य हामी पुग्दा मायाको अत्यधिक रक्तश्रावका कारण मृत्यु भइसकेको रहेछ, छटपटाउदै गरेका उसका दाजू र निर्जीव माया दुबैलाई एम्बुलेन्समा हालिंदै थियो। रूदै बसेको मायाको लोग्ने मलाइ देखेर जुरूक्क उठ्यो र ''हेइइइइ! '' गरेर चौरऔला ठड्यायो अनि फेरी थुचुक्क बसेर पुर्पुरो समाउदै रून थाल्यो। हामी त्यहाँ उभिरहनुको कुनै अर्थ थिएन। त्यसैले दाजूबहिनी गह्रौ दिल बनाएर आँसु पुछ्दै घर फर्कियौं। ~समाप्त~! ''''कथा काल्पनिक हो, यो कथा कसैको जीवनसँग नमिलोस्, यति भए कथाकार खुशी हुनेछन्।''''''''''''

Thursday, May 2, 2013

शेखर अंकलको साथमा

१.अलिक गर्मी थियो, म बाहिर खाटमा बसेर साँझको खाना खाँदै थिए। भित्र मोबाइलको घण्टी बजेजस्तो लाग्यो,बाले उठाउनुभएछ।'माहिला भित्र आइज त,शेखर भाइले फोन गर्याछन् कतारबाट, तँ सँग कुरा गर्ने रे!' सुन्नेबित्तिकै एकै सासमा म भित्र पुगे। 'हेलो अंकल दर्शन!', 'आशीर्वाद छ बाबु, कुरा के पर्यो भने म भोलि नेपाल फर्किदैछु। पर्सिसम्म नेपाल आइपुग्छु,तिमी एसएलसी दिएर बसेका रैछौ क्यारे! काठमाण्डु घुम्न पनि हुन्छ,तिमी पर्सीतिर काठमाण्डौ आउ,अनि सँगै घर फर्कौला।' उहाँले एकोहोरो कुरा सिध्याउनुभो। मैले हवस् भन्नेबित्तिकै फोन कट्यो। बाआमा सँगै बसेर खाना खादैहुनुहुन्थ्यो,कुरो यस्तो रैछ भनेर भने। उहाँहरू दुवैले 'जाँ न त आजसम्म ग'को पनि छैनस्। शेखरले पक्कै तँलाई केके ल्याइदेको होला विदेशबट त्यै भएर बोलाकोहोला' हाँस्दै भन्नुभयो।
२.पढ्नु केही थिएन।आजकल काम बस् खानु र सुत्नु मात्र थियो। म कोठामा पुगे।घप्लक्क ओछ्यानमा ढले। शेखर अंकलका भर्खर बोलिएका शव्दहरू कानमा फेरी गुञ्जन थाल्यो। शेखर अंकल खासमा साख्खै अंकल होइनन्। मेरो बा र उनको बाका बाहरू घरकै दुइ भाइ अरे!घर जोडिएको थियो,त्यसैले हाम्रो परिवारबीच बिछट्टै आत्मीयता थियो। शेखर अंकल र दीपा अंटीको बिहेमा गएको,भोज खाएको,अर्को दिन पेट दुखेर स्कुल जान नपाएको कुरा मानस्पटलमा एक-दुइ झिल्का अझै बाँकी थिए। शेखर अंकलले मलाई धेरै नै माया गर्नुहुन्थ्यो। हुन त उहाँहरूको बिहे भएको ८ बर्षसम्म पनि छोराछोरी केही भएको थिएन,त्यसैले नि होला, कमजोरी शेखर अंकलकै थियो रे। यो सब भएर पनि ती जोडीको बीचमा चखेवाचखेवीकै प्यार छचल्किएको देख्न पाइन्थ्यो।मलाई पनि बाआमा पछि सबैभन्दा मानिने गनिने र आफ्नो लाग्ने व्यक्ति शेखर अंकल नै हुनुहुन्थ्यो। अंकल पहिले भारतीय सेनामा थिए,३२ बर्ष पुगेपछि बल्ल उनले बिहे गरे। ३८ बर्षको उमेरमा रिटायर्ड भए, तीन चार महिनापछि फेरी उनी सेक्युरिटी गार्डमा कतार हान्निए। 'बच्चाबच्ची छैनन्, तै नि यो अंकललाई कति पैसा कमाउन मन परेको, घरमै बसे बरू बच्चा पनि जन्मी पो हाल्थे कि?' मलाइ बेलाबेलामा यस्तै लाग्थ्यो,शेखर अंकल घरमा धेरै नबस्ने भएर बच्चा हुन नसकेको होला जस्तो मलाई लाग्थ्यो। शेखर अंकलले प्रत्येक पटक छुट्टीमा आउदा मलाइ जिन्सको पाइण्ट र सर्टहरू ल्याइदिनुहुन्थ्यो, इण्डियन मीठाइहरू नि हुन्थ्यो।खुशीको कुरो एक प्याक मीठाई मेरो भाइले पाउथ्यो,भाइको अगाडि बाँड्दाखेरी एकै प्याक मात्र दिएपनि पछि खुसुक्क सट्टीमा एक प्याक बोनस पाउथे। मनै चङ्गा हुने गाँठे। मीठाइको मीठोपन मुखमै हुन्थ्यो,अब उहाँ र म भएर गाउँ डुल्न निक्लन्थ्यौ। दाजू पोखरा बसेर इञ्जिनियरिङ पढ्दै हुनुहुन्थ्यो, मलाइ थाहा भएअनुसार उहाँले कहिल्यै अंकलको मीठाई चाख्ने अवसर मिलेन र मैले पनि मनमनै दाजू घरमा नभइदिएकोमा भगवानलाई धन्यवाद दिन्थे किनकि मलाइ लाग्थ्यो कि उहाँ भैदिएको भए अहिले पाइने मीठाई बाँड्दा केही कम मीठाई मात्र हात लाग्नेछ। अर्को कुरा दाजूलाई बाले आफ्नो (नेपाली)आर्मी-पेन्सन बुझ्नेबित्तिकै हरेक महिना रू५५०० पठाउनुहुन्छ भन्ने मलाइ थाहा थियो र आफूलाई भने बीस-पचासभन्दा बढी मिल्थेन, ज्यादै दु:ख लाग्थ्यो र त्यसको बदला मीठाइले जो पूर्ती गरोस् भन्ने उबेलाको साँघुरो सोच थियो।

३.'ए माहिला उठ्ने होइन,भोलि काठमाण्डू जाने अरे अनि के हो नुहाइधुवाई गर्छस कि यत्तिकै धुर्सेमुर्से नै जान्छस्?' आमाको बोलीले झसङ्ग भए,बिउँझिए,आँखा मिच्दै उठे। ओहो! गाडीमा चढ्दा त विद्यार्थीलाई छुट पो हुन्छ त! तर दुखको कुरो मसँग परिचयपत्र थिएन। संकटकालको बेलामा स्कुलले परिचयपत्र अनिवार्य गरेको थियो र कक्षा-छ मा हुदा बनाको मात्र एउटा थियो। त्यै नि धुँदा पानीमा भिजेर अपाङ्ग भएको थियो,फोटो भने त्यति बिग्रेको थिएन! गर्ने के त? आइडिया आयो- शिव दाइको होला नि पुरानो, उनी त यताउता पनि हिडिरहने,पक्कै होला! उनको परिचयपत्रमा मेरो फोटो चिप्काए त तण्टै खतम। म शिव दाइको घरमा पुगे र सोही आग्रह गरे उनले पनि ए छ छ भन्दै एउटा कक्षा-९ वाला परिचयपत्र थमाइदिए। मन खुशी भो। 'ल तेरो नाम त मिलेन नि?' 'मेरो नाम के निधारमा लेख्याछर म शिव हो कि कर्ण त्यो जाबो खलेले काँ'ट चिन्नु? म अब गाडी चढ्दा शिव नै हो।' मनोवाद चल्यो। घर पुगेर शिव दाइको परिचयपत्रको फोटो सावधानीपूर्वक उतारी त्यसमा आफ्नो पुरानो त्यै परिचयपत्रवाला फोटो जमाउने निर्णय गरे। ला गम त छैन ,के गर्नु? फेरी आइडिया फुर्यो,पीठो भिजाएर त्यसैले चिप्काउने त हो नि!हो त्यसै गरियो! हेडमास्टरको सिग्नेचर नमिलेको थाहा पाएसी रातो कलम खोजेर फेरी धस्याकधुसुक बनाइदिए। लौ जा! अब इन्द्रेका बा चन्द्रेले नि खुट्याउन सक्तैन। म शिव हो शिव हाहाहा!

Image result for smiling cartoon images
४.नुहाइधुवाइ पनि भयो,खाना खाइयो। अनि दीपा अण्टीकोमा जाने बिचार आयो र गएँ, उहाँ खुशी हुनुहुन्थ्यो कि दु:खी मैले खुट्याउन सकिनँ। '२ वर्षपछि बुढा घर आउने भएसी नि केको पीर लिनुहुन्छ हो अण्टी?' मैले जिस्काको जस्तै गरी भने। उहाँ केही गम्भीर बन्नुभयो र भन्नुभयो- 'कर्ण तिमी त अल्लारे मान्छे, तिम्लाई त यस्ता कुरामा केको विश्वास लाग्थ्यो र! तर आज राति मैले ज्यादै नराम्रो सपना देखें, उहाँलाई....उहाँलाई त...' उहाँ घुँक्कघुक्क रून थाल्नुभयो। 'छ्या अण्टी पनि! पर्सी साँझसम्म त हामी आइपुगिहाल्छौ नि! बेकारमा टेन्सन लिनुहुन्छ। अब सपना भन्ने कुरा त जे पनि देखिहालिन्छ नि,टेन्सन लिने त कुरै छैन।' उहाँ भन्न थाल्नुभयो- 'हैन कर्ण! मेरो सपनाले मिस खाएको छैन अहिलेसम्म, पोहोर नि यस्तै सपना देख्दा मामु खस्नुभयो' उहाँ फेरी रून थाल्नुभयो। ठुलो मान्छे रोएको कति नसुहाएको! मैले फेरी पनि केही हुदैन ,पर्सी त जसरी नि घरमै आइपुगिन्छ, सपना मिल्नु त संयोग मात्र हो, आदिआदि भनेर सम्झाउने असफल प्रयाश गरे। उहाँ अलिक ढुक्कजस्तो हुदै भन्नुभयो-''यदी तिम्ले अंकललाई लिएर आएनौ भने?'' मैले उट्पट्याङ शैलीमा जवाफ दिए-आ...ल्याइहाल्छु नि!ल्याएन भने मेरो कान काटेर तपाइलाई बुझाउछु, म जिन्दगीभरी कुमारै बसूँला, भो?''/''तिमी कान काटेको मान्छेलाई कसले पत्याउछ र बिहे गर्छौ त नि?''

५.अण्टीको अनुहारमा केही आशाका धर्सा अनि मुस्कानका भावहरू पढिसकेपछि मैले अण्टीलाई अझ आश्वस्त पार्दै उहाँबाट बीदा लिएँ। घरमा पुग्दा बाले पैसा गन्दै हुनुहुन्थ्यो, एक दुइ तीन चार हज्जार!! 'लौ चार हज्जारले त पुग्ला नि माहिला, ल राख।' मैले सहमतिमा मुण्टो हल्लाउदै चुम्बकले फलाम तानेझै पैसा ताने।त्यतिबेला ,जब चार हज्जार रूपैया मेरो हातमा थमाइयो,त्यतिखेर मेरा नशानशामा अनौठो फूर्ती आएको अनुभव भइरहेको थियो। शरीरका सबै रौंहरू एकैसाथ ठाडठाडा भएका थिए। आजसम्म मलाई बाले दिनुभएको पैसाको सबै हिसाबकिताब नबिराई जोड्दा पनि त्यत्रो चार हज्जार पुग्ने संभावना अह थिएन। मैले बालाई आँखा झिमिक्क पारे अनि भित्र कोठामा पुगेर खल्तीको पैसा फेरी थुक लगाईलगाई नअघाञ्जेल गनिरहें। हुन त त्यो पैसा दाजूले मासिक पाउने पैसामा अझै पन्ध्र सय कम थियो। तर पनि मलाई त्यो पैसा करोडभन्दा कम लागेको थिएन। बास्तवमा जीवनमा पहिलोपल्ट त्यत्रोविधि पैसा मेरो हात परेको थियो। अब एकहिसाबले उक्त पैसा कहाँकसरी खर्च भन्नेतिर मेरो ध्यान केन्द्रीत भइसकेको थियो। गाडीभाडा र नास्तापानी गर्दा दुइ हजारभन्दा बढी खर्च हुने चान्स नै थिएन। ओहो! अनि बाँकी दुइ हज्जार के गर्ने त? ''काठमाण्डू गएर एकजोर महँगोखाले कन्भर्स सूज र एउटा दामी टिसर्ट हान्नपर्छ'',एकमनले निर्णय सुनाइसकेको थियो। अरू केही पो गर्ने हो कि भन्ने पनि लाग्यो तर उपयुक्त विकल्प भेटिएन।
६. सबैभन्दा मिल्ने गाउँकै साथी अजयलाई फोन लगाए र आफू भोलि केटीएम हिड्न थालेको गफ दिएँ र जाने भए हिड सम्म पनि भने तर मनले चाँहि ऊ नगइदिए हुन्थ्यो भन्ने लागिरहेको थियो। किनकि आफू एक्लै काठमाण्डु गएपछि फर्की आएर गफ हान्न पाइन्छ भन्ने आशा मनमा थियो। उसले पनि मेरो त अरू नै काम छ जान पाउदिन भनेपछि मेरो छाती ढक्क फुल्यो र अझ नाटकीय कुरा गर्दै भने-''जाम न हिँन एकवारको जूनीमा कहिलेकाही त घुम्न नि पर्छ ए गानी!'' विश्वास थियो, यो जति कर गरेपनि जाँदैन, के बाल भो र? र उसले मान्दा पनि मानेन। साँझ पर्यो, म बाआमा बसेतिर टुसुक्क बस्न गएँ। ''ल छोरा काठमाण्डु त जाने भइस् ,छतमा त नबस्नु है!!,कतै कही भइहाल्यो भने?'' आशंकामिश्रित स्वरमा आमाले भन्नुभयो! 'अँ त्यो त होनि, छतमा त चढ्न हुन्न!'' बाले पनि सहमती जनाउनुभो। छतमा चढ्न मलाई नि डर लाग्थ्यो तर ते गर्नु छतमा नचढी हामीलाई सुखै थिएन। पहाडको बाटो मान्छेहरू ठेलमठेलम! म दुइचोटी दिदीको घर जाँदा बसमा चढेको थिए र दुवैपल्ट छतको यात्रा गरेको थिए,बाध्यता नै थियो। छतमा अरू त त्यस्तै हो, चीसो हावाको झोक्का एकातिर मिल्थ्यो भने अर्कोतिर छतमा चढेर बाटामा देखिएका केटीहरू जिस्काउने केटाहरूको रमाइलो बानीले केही रूपमा ओठमा मुस्कान अवश्य ल्याइदिन्थ्यो, उस्तै परे हो मा हो पनि मिलाइन्थ्यो। 'म छतमा चढ्दीन,किन चीन्ता लिनुहुन्छ?'मैले भने। साँच्ची भन्दा पहिलाका दुइपल्ट पनि मैले बाआमालाई यसरी नै आश्वस्त पारेको थिए। केही बेर कुरा भयो, खाना पाक्यो,खाइयो ,सुतियो। अहो! भोलि बिहान त साढे छ बजे नै गाडी चढ्नपर्छ,छटपटी हुदैथ्यो,नीद्रा चाँडो परोस् ,मनले यस्तै भन्दैथ्यो। ७.बिहान पाँच बजेको आलार्म राखेको थिए। अचम्म! अलार्मको पहिलो टुइटुइमै म बिउझिएँ। जुरूक्क उठीहाले। मर्निङवाकमा जानपरो भनेर निस्के। छ बजेतिर घर फर्किसकेको थिए। लैजानपर्ने सामन के पो थ्यो र? झोलामा एकजोर कपडा हालेर जुत्तासुत्ता लगाई तयार भएँ। आमाले टीका लगाइदिनुभो, बाले पैसाको जतन गर्न र मान्छेहरूबाट सतर्क बन्न आदेश दिनुभो। आमाले ला बाटोमा के पर्ला कसो पर्ला भन्दै थप रू.५०० दिनुभो। मन्दमुस्कानसित त्यो पैसा पनि समाएँ। ''मोबाइल लैजान्छस्?,लैजा ला!'' भन्दै घरको भएको एउटा मोबाइल बाले मलाई नै दिनुभो,मैले खोजेकै त्यही थियो। दीपा अण्टी पनि टुप्लुक्क आइपुग्नुभो। हिजोजस्तो निराश चेहरा देखिएको थिएन उहाँको। 'पुग्नेबित्तिकै फोन गर!' भन्नुभयो। सबैको सहानुभुति र आशिर्वाद बोकेर म मोटरबाटो उक्लिएँ।
८. गाडी समयमै आयो,चढियो। कस्तो भाग्य लास्ट भएपनि एउटा सिट खाली रहेछ, लौ मलाई चिठ्ठै पर्यो। खले दाइले आएर सोधे-''कहाँ पुग्नुछ?'' ''काठमाण्डु!'' 'ए ल ल भाडा दिनुस्।' मैले नआत्तिदै सोधे- कति बजे पुगिन्छ? 'सात बजे!' जवाफ आयो। 'ल ल भाडा मिलाइहालौं!' 'कति हो?' ''सात सय'' 'म त विद्यार्थी हो' ''ए ल ल साढे छ सय दिनुस् नत, कार्ड पनि देखाउनुस्। '' ३३ प्रतिशत छुट पाइन्छ भन्ने त थाहा थियो तर धेरै कचकच नगरी साढे छ सय रूपे र परिचयपत्र पनि बुझाएँ! हेरेजस्तो गर्यो र उ हिडिहाल्यो, नक्कली कार्डले पचास रूपैया भएपनि छुट पाएकोमा मनमनै शिव दाइलाई धन्यवाद दिएँ। बसको स्पीकरमा गीतहरू बजि नै रहेका थिए। थोरबहुत संगीतको पारखी म अलिअलि गुनगुनाउन थाले ,संगीतसँगै। छेउमै बसेकी एउटी आइमाइले आँखा तरेपछि चूप लाग्न पर्ने अवश्था आयो।
 ९.      १२ बजेतिर बसबाट ओर्लेर खाना खाँदै थिए। मोबाइलमा घण्टी बज्यो। फोन उठाएँ, ''म शेखर हो, काठमाण्डु आइपुगेँ, तिमी आउदैछौ भन्थीन् दीपाले, ल म बसपार्कको Everest Hotel मा बसेको छु, तिमी पनि यही आऊ , अहिले मैले यही नंवर चलाइरहेको छु।'' उनले यति भनेर एकै सासमा कुरा सके र मैले हवस् भन्न नपाउदै फेरी फोन काटियो। मैले नंवर यसो चिहाएर हेरे र फेरी खानमा व्यस्त भइयो। फेरी बस चढियो। एक घण्टाजतिको यात्रापछि कति बजेछ त भनी मोबाइल निकाल्न गोजी छामेको! ल.. ल.. ल.. मोबाइल त गोजीमा हाल्न नै बिर्सेछ। लौ न नि! पर्यो बित्यास! उही सँगैकी अण्टीसँग मोबाइल मागेर आफ्नो नंवरमा डायल गरे। धन्न! फोन उठ्यो।''हेलो कसलाई खोज्नुभाको?''उताबाट सोधियो। मैले अब के भन्ने मेसो पाइनँ।मैले ''यो मेरो मोबाइल हो, तपाइ को हो कहाँ हुनुहुन्छ?'' भने। ''के रे? नचाहिने कुरो त नगरौ न अर्काको मोबाइलमा फोन गरेर जे पायो त्यही भन्ने?'' म झसङ्ग भए र छ्यास्स फोन काटे।नंवर गौरसित हेर!ठीकै त छ। फेरी डायल गरे।दूर्भाग्य यतिञ्जेल मोबाइल स्वीच अफ गरिसकिएको थियो। मलाई लाग्यो हिजो रिचार्ज गरेको २०० रूपे फोन गरेर भ्यायो होला अनि अहिले बल्ल स्वीच अफ गर्यो।

Image result for mobile images
१०. मोबाइल हराइनै सकेपछि के गरौं र कसो गरौं? औडाहा र छटपटी हुन थाल्यो, छिटछिट पसिना आयो। हतपत अंकलको नंवर सम्झिन खोजे। उ बेलाको दिमाग टाठै थियो, पेन निकालेर हातमा नंवर लेखे। सवा सातमा बसले बसपार्क पुर्यायो। म हतारहतार नजिकको पिसिओमा गएर अंकललाई फोन लगाएँ। धन्न! नंवर त्यही नै रहेछ। उहाँले आफू बसेको होटलको लोकेसन र रूम नंवर दिनुभो। म बल्लतल्ल सो होटलमा पुगे र दिइएको रूमको ढोका नक गरे। भित्रबाट ''को हो?'' भनियो। स्वर चिनेजस्तो लागेकाले ''म हुँ अंकल भने।'' एक हातले मोवाइल कानमा लगाएर फोन गर्दै गरेका अंकलले मुखले टोकेर ढोका खोलेको दृष्य अपत्यारिलो लाग्यो। ११.मैले ध्यानसित हेरे, हँ उनको एउटा हात मेरो आँखाले देखेनँ,आँखा मिचे, देखिनँ। ओहो! के भयो होला भन्ने लाग्यो, उनले बेडमा बस्न ईशारा दिए। ''ल कर्ण आइपुग्यो,फोन राखे है'' भन्दै फोन काटे,दीपा अण्टीलाई रैछ फोन गरेको। म आश्चर्यचकित बनेर एकटकका साथ उनलाई हेरिरहँदा उनले नबुझ्ने कुरै थिएन। उनले फूर्तिसाथ भने- ''नआत्तेऊ मलाई केही भएको छैन, डेढमहिनाअघिमात्र यस्तो भयो तर खास्सै दु:ख लागेको छैन मलाई!'' मेरो जिज्ञासा रह्यो- ''यो सब कसरी?'' उनले मेरो आँखामा आँखा मिलाए तर उनको अनुहारमा पश्चाताप या दु:खको कुनै संकेत मलाई मिलिरहेको थिएन। उनले भन्न थाले- ''बाबु मैले एउटा कम्पनीको सेक्यरिटी गार्डको रूपमा काम गरिरहेको थिए। बस्ने खाने व्यवश्था कम्पनीले नै गरेको थियो। मालिकले बेलाबेलामा मलाई आफ्नो घरमा लैजान्थ्यो र उसले घरनजिकैको कृत्रिम पोखरीमा माछाहरू पालेको थियो। तीनै माछाहरू मार्नका निम्ति मलाई उसले त्यहाँ लैजान्थ्यो। दूर्घटना हुनभन्दा पहिला मैले जाल हानेर नै माछा मारिरहेको थिए। त्यो दिन मालिकले भोलिको आफ्नो म्यारिज एनिभर्सरी का निम्ति सबै माछाहरू मार्ने र पार्टी खुवाउने योजना बनाएको रहेछ। जालबाट असहज होला भन्ठानेर उसले हाते बमहरूको व्यवश्था गरेको रहेछ, मैले एउटा बम त सजिलै पड्काएँ,तर दोश्रो पड्काउन खोज्दा त्यो मेरो हातमै पड्कियो, म अचेत पल्टिएँ। मलाई डेढ महिनासम्म हस्पिटलमै उपचार गरियो र अहिले त सबै ठीक भइसक्यो। एउटा हात जसले चालिस बर्ष मलाई काम दियो,मैले त्यो हात गुमाएँ। मन अमिलो भयो। 'बूढाले विदेशमा गएर पैसा त कमाए,अरूको सुरक्षा पनि गरे तर आफ्नै सुरक्षा भने गर्न सकेनन्। साहेद आँसुहरू झर्न बल गरिरहेका थिए तर अंकलको निडर र अझै हँसिलो मुहारको डर मानेर तिनीहरू थामिन बाध्य थिए। उहाँले काटिएको हात खोलेर देखाउनुभो। मैले एकै झल्को हेरे तर अर्कोपल्ट हेर्ने साहस जुटाउन सकिनँ। अंकलले फेरी भन्न थाल्नुभो- ''हेर कर्ण! म यो हालतमा एक्लै घर जाने आँट गर्न सकेको थिएन। मैले आजसम्म कसैलाई पनि,दीपालाई समेत, यसबारे भनेकै छैन। आशा छ सबैकुरा उतै गएर भन्नेछु, सबैले सामान्य रूपमै लिनेछन्। सब कुरा ठीक हुनेछ। ४० वर्ष पुगियो तर बल्ल बुद्धी फिरेजस्तो लाग्दैछ। कर्ण! अब त म गाउँमै गएर व्यवसाय गर्ने सोचमा छु। मैले कुखुरापालनको योजना बनाएको छु। दुइ-चार जना अरूलाई नि रोजगारी हुन्छ। छोराछोरी छैनन् त के भो? यसमा मेरो कुनै गुनासो छैन,गाउँको टुहुरो केटो अमितलाई धर्मपुत्र ग्रहण गर्ने बिचार छ। फेरी तिमीहरू तीन भाइ पनि आफ्नै जस्ता त छौ नि!'' मैले मुण्टो हल्लाएर हो हो भने। ''म त आफूलाई भाग्यमानी ठान्दछु कर्ण! विदेशमा हात गुमाए तर ज्यान त गुमाउन परेन नि! म यसमै खुशी छु। दिनदिनै खवरहरू आउछ, फलानोलाई यस्तो भयो ,उस्तो भयो भन्दै! कठै ती बिचरा! म त तिनीहरूभन्दा कति हो कति भाग्यमानी! ती बिचराहरूको प्राण त्यो विदेशी भूमीमा कसरी गयो,सम्झिदा उदेक लाग्छ। मैले त कमसेकम आफ्नो प्राण आफ्नै माटोमा मिलाउन त पाएँ। धन्य छु म। मैले अन्तिम सास त्यही मिलाउने जहाँ मैले यसको सुरूवात गरे। मेरा पाइलाहरू बूढेसकालमा त्यही लर्खराउनेछन् जहाँ मैले टुकुटुकु हिड्न सिके!'' उहाँ धेरै भावुक बन्नुभयो। उहाँले रक्सी पिउनुभएको थियो,गन्धले त्यसै भन्दै थियो। तर जो कुरा उहाँ बोलिरहनुभएको थियो ,ती उहाँका अन्तस्करणबाट प्रसारित ध्वनीहरू थिए। उहाँ साँच्चै नै राष्ट्रवादी विचारले ओतप्रोत भइसक्नुभएको थियो। उहाँका ती भोगाइले मेरो गला अवरूद्ध थिए। म न त कुनै प्रश्न गर्न सकिरहेको थिए न त अंकलको मुखमा हेर्न सकिरहेको थिए। बस् केवल चूपचाप घोसेमुण्टो लाएर उहाँका स्वतस्फुर्त वाणीहरू सुन्दै थिए। उहाँले कुरा थप्दै जानुभयो- ''बास्तवमा नेपाल देश धनी छ, हामी नेपाली मात्र गरीब छौ। हामी सोचका गरीब छौ, बुद्धीका गरीब छौ, विवेकमा हाम्रो भोटताल्चा लागेको छ। हामीले आफ्नै हीरा र मोती चिन्न सकेका छैनौ र फलामको आशमा विदेशीको गुलामी गर्दैछौ। हामी कस्तुरी नै हौ जो आफ्नै शरीरबाट निस्किएको सुगन्धको स्रोतको खोजीमा भड्किरहेका छौ। अमेरिका,बेलायत लाई कसैले बनाइदिएको होइन, उनीहरू आफै आफ्नै नङ्ग्रा खियाएर बनाएका हुन्!'' ''बुझ्यौ कर्ण अब त म सबैलाई आफ्नो जिन्दगीको सबै समय आफ्नै माटोको सिँगारपटारमा लगाउन बल गर्नेछु। उनीहरूको लागि म सधै प्रेरणाको स्रोत बन्ने प्रयाश गर्नेछु।'' मैले मनमनै सोचे-''पढेर भन्दा परेर नै धेरै कुरा सिकिंदो रहेछ, हे भगवान् अंकलको सदीक्षा पूरा होस्। '' मैले मनमनै भगवान्लाई सम्झिएँ।
Image result for feeling hopeful
१२. '' ल कर्ण उठ अब त घर हिड्ने हो'' सामन मिलाउन थालिसक्नुभएका अंकलले भन्नुभयो, म लाज मान्दै हत्तपत्त उठे। होटेलको चार्ज तिरीवरी हामी होटलबाट बाहिरियौं,बसपार्क हान्नियौ। टिकट काट्नुभयो अंकलले, चियानास्ता पनि खायौं। मेरो २ हजार तह लगाउनका लागि पर्याप्त समयको अभाव थियो। एकमन त पैसा बचेकोमा रमाएकै थियो। हामी बसमा चढ्यौ। अहो! कति धुँवा र धुलो उडेको मैले सिटनेरको झ्याल बन्द गरे। धूलो,धुँवा र प्रदूषणको पनि यो त राजधानी नै हो है अंकल! अंकल फिस्स हाँस्नुभो। बस चल्न शुरू गर्यो।आफ्नो मोबाइल हराइसकेकाले अंकलको गोजीको मोबाइलतिर मेरा आँखा ठोक्किरहेका थिए। अंकलले संकेत बुझ्नुभएछ, इयरफोनसहितको मोवाइल निकालेर दिनुभो। अब म खोजीखोजी भिडियो हेर्न थाले। त्यस्तै १ बजेतिर पहिले खाना खाएको ठाउँमा नै बसले खाना ख्वाउन रोक्यो। मनमा मोवाइल पाइ पो हालिन्छ कि भन्ने झिनो आश अझै थियो। मैले अंकललाई उ त्यही होटेलमा हो भनेर इशारा गरे। हामी त्यही गयौ।अंकलले यसोयसो रैछ,केहो कसो हो भनेर होटलमालिकलाई सोध्नुभो तर उसले आफू त्यसबारे बेखवर रहेको जानकारी दियो। मलाई एकदुइवटा सवाल गर्न मनलागेको थियो तर अंकलले चूप रहन संकेत दिनुभो। खाना त्यही खाइयो,अंकलले एकप्याक भर्जिन पनि लिनुभयो, मैले श्रीफ आँखाले नखानोस् भने तर मुखबाट आवाज निस्केन। हामी फेरी बस चढ्यौ। १३.घर पुग्न३घण्टाजतिको बाटो बाँकी थियो। हामी गाडीभित्र सिटमै थियौ।वैशाखको गर्मीले अंकललाई औडाहा भएछ, भन्नुभो-कर्ण हिड छतमा बसौ,हावा त खान पाइन्छ। मैले मौनस्वीकृती दिए। गाडी रोकियो र हामी छतमा चढ्यौ। छतमा बीच बाटोमा गाडी चढेकाहरू टन्नै थिए,अंकल उनीहरूसितै गफिन थाल्नुभो। म भने फेरी भिडियो हेर्न थाले। एक्कासी सिर्र सिट्ठी बज्यो,गाडी रोकियो।पछाडि फर्किए, हँ...अंकल बसेको ठाउमा हुनुहुन्थेन। यस्सो भुइमा हेरे,अंकल त्यही लम्पसार पर्नुभएको थियो।उहाँले एउटा हातले सुर्ती मिच्दै हुनुहुदोरहेछ, त्यही क्रममा साइडबाट छतमा भएका मान्छेहरूलाई छुने गरी आएको रूखको हाँगोले उहाँलाई पछारेछ। मान्छेहरू रामराम भन्दै थिए।हतारमा भुँइ झरे।देख्नेगरी चोट लागेको थिएन,रगत बगेको नि थिएन तर उहाँलाई बजारिदा औधी पीडा भएछ,उहाँ बेहोस हुनुभएको थियो। नजिकमा हस्पिटल थिएन,सदरमुकाम नै लैजानपर्ने। उहाँलाई तुरून्त सोही बसमा हालियो,जतिसक्यो चाँडो उहाँलाई हस्पिटल लैजानुथ्यो, म उहाँलाई काखमा लिएर के गरौ र कसो गरौको दोधारमा होस नै उड्न लागेको अवश्थामा थिए। हाम्रो घर सदरमुकामभन्दा १५ मिनेटअगावै बाटैमा पर्थ्यो। मैले दीपा अण्टीलाई फोन गरे र फोन बालाई दिन भने। बालाई मैले सबैकुरा भने। बेहोस मात्र हुनुभाको हो,खासै केही हैन,नआत्तिनोस, बाटोमा आएर बस्नुस सँगै हस्पिटल लैजाउला भने। बाले हुन्छ भनेर फोन काट्नुभो। मैले बालाई त आश्वस्त बनाए तर आफै भने दोधारमै थिए,अंकलले अझैसम्म पनि शरीरको कुनै भाग चलाउनुभएको थिएन। मलाई दीपा अण्टीलाई दिएको बाचा अनि शेखर अंकलको सपना झलझली याद आइरहेको थियो। के हुने होला भन्ने कसैले अनुमान गर्न सकेको थिएन। बल्लतल्ल हाम्रो घर आइपुग्यो।दीपा अण्टी बाटोमा रूदै बस्नुभएको थियो,बा र आमाले भने सम्झाउदै हुनुहुन्थ्यो। हतारहतार उहाँहरू नि पिकअप हुनुभो र सदरमुकाम पुगेपछि बसबाट ओर्लाएर तुरून्त हस्पटल पुर्यायौ अंकललाई। १४. अपरेसन थिएटरमा उहाँ हुनुहुन्थ्यो,सबै कुरो डाक्टरको जिम्मा लगाएर हामी बाहिर बसेका थियौ। दीपा अण्टी रूदारूदा बेहोस हुने अवश्थामा हुनुहुन्थ्यो, हामी तीन जना पनि इन्तु न चिन्तु थियौ। सबैले संभवत: भगवानलाई नै सम्झिरहेका थियौ। करिब १ घण्टापछि डाक्टर निक्ले र भने- ''होस आयो,भेट्न सक्नुहुन्छ!'' हामी सबैले सास यसरी फेर्यौ कि मानौ यतिञ्जेल सास रोकेर बसेका थियौ। भित्र पस्यौ,अंकल मुस्काउनुभो। 'मलाई केही हुन्न,ढुक्क हुनुस्' बातिर फर्केर उहाँले भन्नुभो। 'के छ डार्लिङ?' दीपा अण्टीलाई झसङ्ग बनाउनेगरी अंकलले भन्नुभो र अण्टी फेरी एकपल्ट लाजले रातीपिरी हुनुभो। १५. दुइदिनको हस्पिटल उपचारपछि अंकल सकुशल घर फिर्ने हुनुभो,उहाँलाई डिस्चार्ज गरियो। यो आजभन्दा ४ वर्ष अगाडिको घटना हो। अंकलले मलाई सुनाएझै अहिले उहाँ गाउमै कुखुरापालन गर्नुहुदैछ। अमितलाई धर्मपुत्र बनाउनभएको छ। र सबैभन्दा खुशीको कुरो १ वर्षअघि प्यारी बहिनी शुष्मा पनि जन्माउनुभयो है अण्टीले। आखिर मेरो शंका सही नै ठहरिएझै मलाई लाग्यो (मलाई अंकल धेरैजसो समय घरमा नबस्ने भएकैले छोराछोरी नजन्मिएको जस्तो लाग्थ्यो ;))। आजकल अण्टीले मलाई जिस्काउनुहुन्छ-''कर्ण तिम्रो अंकललाई उतिखेर केही भएको भए त तिमीसँग न त कान हुन्थ्यो न त तिमी बिहे नै गर्न पाउथ्यौ!'' मैले पनि मुख बिगार्दै भन्छु-''कान त म सँग छदैछ, बाँकी एउटी दुलही हो, त्यो त तपाइले नै खोज्दिनपर्छ र बिहे खर्च पनि तपाइहरूले नै बेहोर्नपर्छ है!''....... समाप्त! ...........
Image result for feeling happy images
यो काल्पनिक कथा हो, पात्रहरू पनि काल्पनिक हुन्।
 कसैको जीवनसँग मेल खाएमा लेखक रामराम मात्र भन्न सक्छन्, काँध थाप्न सक्दैनन्।
                                                  धन्यवाद!!!!!



Thursday, April 4, 2013

विगतको ऐनामा हेरिएको आफ्नै अनुहार!!

विगतलाई सम्झिएर केही छिन घोरिदा पनि अनौठो सन्तुष्टी मिल्दो रैछ। आज त्यस्तै भयो, कुराको सिलसिला चल्दै थियो, प्रसङ्ग चल्दै जाँदा ती पुराना घटनाहरू फेरी मस्तिष्क सिँचाइ गरेर दौडिए। विशेषत: एकलकाटें मान्छे(उ जमानाको) म अरूसँग भन्दापनि आफैसँग कुरा गरेर नै धेरै समय बित्यो होला तर केही सीमित साथीहरू र वरिपरिको परिवेशले मलाई केही न केही रूपमा प्रभावित पारेकै थियो। विद्यालय भन्दा बाहिर त्यति धेरै साथीहरू थिएनन्, तर पनि तिनै साथीहरूसँगको गफगाफ र क्रियकलापहरू फेरी आज मस्तिष्कमा 'रिप्ले' भए। बेग्लै मज्जाको अनुभूती भयो। मैले आज आजकलको नयाँ साथीलाई मेरो स्कुले जीवन, खासमा स्कुले प्रेमप्रसङ्गको कुरा सुनाउदै थिए। चाख मानेर सुनेकाले बालककालदेखि +2 पढ्दासम्म कस कसलाई मन पराइयो, क-कसलाई प्रपोज गरियो भन्ने सम्म पनि सुनाउन भ्याएँ। साँचो बोल्ने र स्वीकार्न हो भने मान्छेले लोभी मनलाई सम्हाल्न सक्तैन र उसले 1 जना मात्र हैन विभिन्न समयमा विभिन्न व्यक्तिहरूलाई मन पराएको हुन्छ भलै कति व्यक्त हुन्छन र कति हुदैनन्। मैले पनि विभिन्न समयमा बिभिन्न व्यक्तिहरूलाई मन पराए, तथापि अहिलेको मूल्याङ्कनमा ती भावहरू प्रेम नभएर त्यो उमेरको आकर्षण थिए। धेरै जानाके पछि पनि लागियो, 1-2 जाना पछि पनि लागे तर खासमा साँचो प्रेम भनेर परिभाषित गरिने प्रेमको अनुभव मैले गर्न पाइन। अहिले मेरो बुझाइमा साँचो प्रेम भनिए पनि त्यो एउटा देखावटी खेल मात्र हो जस्तो लाग्छ। वास्तवमा साँचो प्रेम या मनैदेखि गरिने प्रेम सम्भव छैन जस्तो लाग्छ। त्यो एउटा आकर्षणको अस्वाभाविक चाहबाट उब्जिएको भाव हो जस्तो मेरो बुझाइ छ। अहिले यस्तो लाग्दैछ-'' प्रेम कि त त्यो व्यक्तिलाई गरिन्छ जसबाट हामीले केही पाइएको हुन्छ, कि त त्यो व्यक्तिलाई गरिन्छ जसबाट केही पाउने आश गरिएको हुन्छ।''

Wednesday, April 3, 2013

एक सायरी हान्दिम न त!

अपूरो लेखिएको जिन्दगी मेरो।
 अधूरो देखिएको जिन्दगी मेरो।
 भोक मिल्यो तर भकारी भएन,
 पुर्पूरो सेकिएको जिन्दगी मेरो।

Saturday, March 30, 2013

टोपी बेच्ने वालाको परिमार्जित कथा

एउटा टोपी बेच्ने मान्छे रुखको तल आराम गर्दैथियो त्यतिखेर केहि बाँदरहरू आएर त्यस्को टोपिहरू उठाएर लगे । । टेन्सन भैराख्या बेला अचानक उसलाई आफ्नो हजुरबाले सुनाएको एउटा कथा याद आएछ अनि उसले आफुले लगाइराखेको टोपी झिकेर तल फ्याँकेछ ताकि बाँदरहरूले पनि त्यसै गर्लान् भनेर् एउटा बाँदरले रुखबाट ओर्लेर टोपी टिप्यो अनि उसलाई जोरले थप्पड हान्दै भन्यो .. .. -"साले तँलाई के लाग्छ, हाम्रो बाजेले चाहि के हामीलाई कथा सुनाउँदैनथ्यो र ?":)

Saturday, March 2, 2013

लोडसेडिङ!!

खै कसरी धन्यवाद दिऊँ लोडसेडिङ तिम्लाई! कुन शव्दले सम्वोधन गरूँ! राम्रो भनूँ या नराम्रो। झ्याप्प लाइट गइदिन्छ - पढ्न लाको बेलामा, किताप बन्द गरेर नेटमा झुम्मिइन्छ! खै कहिलेकाही त यस्तो लाग्छ लोडसेडिङले नेटप्रेमी बन्न मलजल गरेकै छ। हुन त अरू बेलामा नचलाइने हैन, तर लाइट नहुदा अलि ढुक्कसँग चलाइने केरे! लाइट छैन भनेसी विशेष किमिमको फुर्ती आउनी रैछ केरे! लोडसेडिङको सदा उन्नती होस्, धन्य लोडसेडिङ!

Friday, March 1, 2013

परीक्षा त आइ पो हाल्यो

त्रि.वि. स्नातक तह द्वितीय वर्षको लागि परीक्षाको समयतालिका प्रकाशित भयो! अब दमदार तयारी गर्नुको विकल्प रहेन। समयतालिका यस्तो छ- Chaitra 20- chemistry(321) Chaitra 27: Mathematics(321) Baishakh 9: Physics (321) Baishakh 17:Mathematic(322) जय भोलेनाथ, पढ्न जोश आओस्!

Thursday, February 28, 2013

A Song By Karna Das

जिन्दगीको के भरोसा यो त सानो खेलौना हो ,
दुइ आँखामा एकमा हाँसो अर्कोमा रूवाइ छ।
रात्रीको अँधेरी बिहानीको सुनौलो यहीँ नै संसारको रीत हो साथी,
हरेक पलमा दुखैदुख छन् , सुख त बहानै हो।
आउने सास आफ्नो नै निम्ति, जाने सास अर्कैको निम्ति।
जिन्दगीको के छ र आशा मृत्युको बादलले घेरेकै छ।
दुइ आँखामा एकमा हाँसो अर्कोमा रूवाइ छ।
मान्छेले चाहेको त्यो कहाँ पुग्छ र न त कहिल्यै पुग्ने नै छ।
हरेक जीवन जिउनको निम्ति सम्झौता काफी नै छ।
जुन हेरे जुन राम्रो घाम हेरे पनि त्यस्तै मृत्युछि ए आम्मै किन सबै रित्तै ,किन सबै रित्तै रित्तै।
जिन्दगीको के भरोसा यो त सानो खेलौना हो ,
दुइ आँखामा एकमा हाँसो अर्कोमा रूवाइ छ।

AN old joke

पुरानो जोक(अनुवादित)

एउटा बूढो बाजेको जवान छोरो जेल परेको रैछ। बूढोले जेलमा भएको आफ्नो छोरोलाई चिठ्ठी लेखे- छोरा म बूढो मान्छे खेत खन्न सक्दिन, आलु रोप्न थ्यो नसक्ने भए, तैंले केही सहयोग गर्न सक्छस् की?

छोराले जवाफमा यस्तो चिठ्ठी लेख्यो- बा त्यो खेतसेत खन्ने होइन ,मैले खेतमा हतियार लुकाएर राखेको छु, महँगामहँगा राम्राराम्रा हतियार छन्। खेत नखन्नुहोला।

यस्तो कुरा थाहा पाएर प्रहरीहरू गएर सबै खेतहरू खनेर हेरे तर हतियार कतै फेला पारेनन्। छोराले फेरी बालाई चिठ्ठी लेख्यो- बा मैले गर्न सक्ने सहयोग गरिसके, अब आलु आफै रोप्नुहोस्। ©not allowed.

The reality of students in Nepal

प्रथम श्रेणीका विद्यार्थीहरू राम्रो अंक ल्याएर डक्टर इन्जिनियर पढ्छन्। यिनीहरूलाई पछाडि पार्न द्वितीय श्रेणाका विद्यार्थीहरू कमर्स, म्यानेजमेन्ट पढेर बैकदेखि व्यापारसम्म फैलिन्छन र टन्न कमाउछन्।
तेश्रो श्रेणीका विद्यार्थीहरू राजनीतिमा लाग्छन् र सबैलाई शासन गर्छन्।
जो फेल हुन्छन् , उनीहरू चाहि डन,दादा बन्छन् र सबैलाई औलामा नचाउछन्।

MOm, U r greaT

शहरका एक दम्पति आफ्नो छोरा साथमा लिएर मेला घुम्न जान्छन्। मेलामा छोरो हराउछ। श्रीमानश्रीमती दुबै मिलेर छोरा खोज्छन तर कतै भेट्टाउदैनन, श्रीमान चाहिँले पुलिसलाई खबर गर्छ। श्रीमती रोइरहन्छिन, एक घण्टापछि छोरो पुलिसले खोजेर ल्याउछ। छोरो भेटिने बित्तिकै श्रीमान्ले अचानक आफ्नो छोरा र बुढी लिएर शहरको साटो अब गाउँ फर्कने बिचार गर्छ । श्रीमतीले सोध्छे- अचानक किन गाउँ जान पर्यो।
श्रीमान्ले जवाफ दियो- हेर तिमी एक घण्टा छोरो साथमा नहुँदा पनि चैनले बस्न सकिनौ। उता गाउँमा मेरी आमा के गरी वसेकी होलिन्?10 वर्ष भयो मैले घर छोडेको,, अब त बुढी आमाको साथमा जान चाहान्छु।।। आमा तिमीलाई सलाम_/\_