Thursday, May 21, 2020

उहिलेको प्रेम vs अहिलेको लभ

नमस्कार डाक्टरसाब!
मैले आफ्नो समस्या डाक्टरसाबलाई
सिधासाफ सुनाउँदा नबुझ्नुहोला,
साहेद मसँग रिसाउनु होला ।
त्यसैले अलि बेसी समय म तपाइको माग्छु,
आफ्नो समस्या अब म स-प्रसङ्ग राख्छु ।

डाक्टरसाब !
प्रेम र युद्धमा सबै कुरा जायज हुन्छ,
प्रेम र युद्धको खेल पनि उस्तै-उस्तै हुन्छ ।
किनकि दुवै खेल खेल्दा मुटु चाहिन्छ,
दुवै खेलका लागि हिम्मत चाहिन्छ ।

डाक्टरसाब !
उहिलेको कुरा -
गाउँमा कोही धनजन र शानमान
सबै थोक भएका मान्छे हुन्थे,
कसैको भने एउटा छानो र
त्यही छानोमुनिको जहानबाहेक अरू केही हुन्नथ्यो ।
कसैको बोली बिक्थ्यो, रगत र पानी सबै चल्थ्यो,
तर कसैको केही बिक्दैनथ्यो, श्रम र जवानी मात्र चल्थ्यो ।
तिनै अमिल्दो वर्गभित्र
कुनै दुई पात्रको पवित्र
हो - साँच्चै पवित्र मनमुटु आपसमा मिल्दा,
तर रीतिथितिको उल्झनमा
तिनको निश्चल प्रेम नमीठो गरी बल्झिदा
हिम्मतवाला झिल्केले आफ्नी कान्छीलाई
लाल्टिनको प्रकाशमा
नयाँ जीवन र खुला आकाशको रोशनीतर्फ डोर्‍याउथ्यो,
रातारात भिरको बाटो काटेर
आफैले लेखेको नयाँ तकदीरमा तिनले बसाइँ सर्थे ।

डाक्टरसाब !
अहिलेको कुरा-
शहरमा अचेल पनि हरेक रात
कुनै न कुनै हिम्मतवाला झिल्केले
नयाँ डेरा सरिरहेको हुन्छ ।
तर ऊ आफ्नी 'लभर' कान्छीलाई
साथ लिई बसाइँ सर्दैन कहिल्यै,
ऊ त हरेक चोटी नयाँ-नयाँ साइँलीसित
नयाँ-नयाँ डेरा सुटुक्क सरिरहेको हुन्छ ।
जुगजमानाले रङ फेर्‍यो, डाक्टरसाब!
जुगजमाना बदलियो ।
किनकि शहरको गडफादर 'खुला बजार'ले हामीलाई
'उपभोक्ता'को रूपमा ब्याप्टाइज गराइसक्यो ।
नवउपभोक्ता बनेका हामीहरूले
चोक-चोकको किराना पसलमा
सबैले देख्ने गरी राखिएका ईकोन र सिमकार्डसित
आफ्नो इज्जत धेरैपल्ट साटिसक्यौ ।
पृथ्वीको साझा पोप जुकरवर्गले पनि
आफ्नो 'अप्डेटेड टेस्टामेन्ट' को किताबमा
साथीलाई आवश्यकताअनुसार एड र ब्लक गर्न पाइने
नयाँ कमाण्डमेन्ट टिप्पणीसहित टिपाइसक्यो ।

डाक्टरसाब!
म पनि अब 'लभ' गरूँ कि भनेको ।
समस्या के पर्‍यो भने -
मेरो ढुकुरे छातीभित्र भँगेरे मुटु त छ तर
तर हिम्मत् चै फिटिक्कै छैन ।
लौन डाक्टरसाब!
मलाई हिम्मत दिने दबाई लेखिदिनुस् ।
त्यो दबाई किन्न कुन रक्सी पसल,
कहाँको डिस्टिलरी जाने
अनि कसको निगरानीमा रहेर
कुन सितनसित कति पेग कसरी खाने
मलाई त्यो पनि स्पष्ट बताइदिनुस् ।

No comments:

Post a Comment