Monday, March 30, 2020

विषाणु

मेरो, तिम्रो र उसको
आकांक्षा हो यो सबैको
कि सपनाको संसारमा हाम्रो सजिसजाउ घर होस्,
त्यति नभए विपनाकै घरमा सही सानो संसार अटोस् ।

त्यो पनि नभए
माथिकै मर्जीमा हामी
माथा टेकाउन मञ्जुर
अलाप्न तयार छौ
जिन्दगीका बेसुरमा सुर
तर धिपधिपे जीवनको दियो
निभ्नु भएन अकालमा
एक मुठ्ठी सास नुनको यो ढिको
बिलाउनु भएन आकस्मिक छालमा ।

मानस मन काँप्दै
कारुणिक बिन्ती गर्दैछ -
सब स्वार्थलाई प्राण रक्षार्थ
त्याग्छु म भन्दैछ ।

तर उन्नाइसमा सिर्जिएको कोरोना विषाणु
बिसबाट उन्नाइस हुने छाँट देखिएको छैन ।


© @iYuniQ 30-03-2020

Sunday, August 18, 2019

कविता "मैनबत्ती"

जीवनको अन्तिम सत्यले
कसैको जीवत्व हरिलिँदा
मेरो देहका हरेक रौंहरू
जागा बनी जऱ्याकजुरूक्क उठ्छन् ,
हर मांसपेशीमा त्राहि त्राहिको कम्प छुट्छ ।
अनिश्चयको पथ हिँड्न रूचाउने यो कालले
निश्चय नै एकदिन
हाम फाल्दै झम्टिन आउनेछ,
अरूलाई जस्तै मलाई पनि ।
त्यो क्षण कल्पिन्छ जसै दिमागले,
तत्क्षणै मुटुभित्र भागदौड मच्चिन्छ ।
मन निशामय शुण्यतामा
विवश बनी निशब्द टोलाई बस्छ ।

अहो!
कालले त जस्तोसुकै विरासतको इमारत पनि
ढलाइदिँदो रहेछ;
निमेशभरमै गर्ल्यामगुर्लुम्म ।
मै हुँ भनी मुठ्ठी बजार्ने विशेषहरू पनि
मसानघाटमा दुई करङ मात्र शेष बनी
निर्जीव बज्रिँदा रहेछन् ।
ढल्नु नै त रहेछ हाम्रो नियति,
जतिञ्जेल चल्छ चल्यो,
भाखा नाघेपछि ढल्यो, जल्यो र सिद्धियो ।

तर अहँ!
म ढल्न चाहन्न त्यसरी ।
किनकि ढलिसकेपछि
फेरि कहिल्यै यहाँ उभिन पाइने छैन ।
ढलेको अस्तित्व धुलिमाटी बनेपछि
धुलोजस्तै कुल्चिइनु पर्नेछ,
निर्मम इतिहासका कठोर पैतालाद्वारा ।
अहँ, किमार्थ स्वीकार्य छैन यो मलाई ।
मलाई त चोमोलोङ्मा शिखरजस्तै
अविचलित भई अडिइरहन मन छ ।
कूनलून शान पर्वतजस्तै
छाती तन्काएर स्वाभिमान चौडा पार्न मन छ ।
त्यसो भए के गरूँ म ?
अन्तर्मनमा गहन खोज चलिरहँदा
आत्मतत्वबाट ईशारा मिल्छ-
ढल्नुको विकल्प बल्नु हो;
मैनबत्तीजस्तै बल्नु ।
अँध्यारो चिर्न दृढ उभिई बलिरहेकै बखतमा
गौरवपूर्ण प्राणोत्सर्ग हुन्छ यसको ।
जाऊ,
मैनबत्ती बनी बल्न जाऊ,
बलेर दिग्दिगन्त स्वर्णकिरण फैलाऊ ।
अनि सुन!
निभ्नुअघि थुप्रै नयाँ मैनबत्तीहरू सल्काऊ ;
ताकि तिम्रो अनुपस्थितिमा पनि
तिमीद्वारा प्रज्वलित
तेजोमय अस्तित्वधारा युगयुग बाँचोस् ।

Monday, April 24, 2017

** हाकिम बन्ने कविता **



आदेश र निर्देशन सुन्दा सुन्दै म थाकेँ
जलन आवेग मनमै थुन्दा थुन्दै म थाकेँ ।

तत्कालै, तुरून्तै, अहिल्यै शव्द जुन भए नि अर्थ उहीँ
बोली मोटो-पातलो, टाठो-मधुरो जे भए नि भाव उहीँ ।

भोलि ऊ पर्सि त्यो चै लौ आज यो
पर्खिने हैन काम तपाईले नै गर्ने हो ।

बिदा बस्ने हैन है काममा ध्यान दिनुस्
नुनपानी खाएसी बदलामा ज्यान दिनुस् ।

हिजै गर्नुपर्ने त आज पनि भ्याउनुभएनछ
खोई कहाँ छ फाइल अझै ल्याउनुभएनछ ।

धेरै पेलिएँ म हो साह्रै पेलिएँ
थोरै मात्र पाएँ धेरै धेरै दिएँ ।

कारिन्दा बहुतै झेलेँ अव त म पनि हाकिम बन्छु
माथिकालाई 'हवस् सर' तलकालाई 'हँ/अँ' भन्छु ।

दुई हात जोड्नेलाई एउटा हात हल्का हल्लाउँछु
बाल नदिने स्यालहरूलाई राम्रै सित तह लाउँछु ।

कुर्सीमा सिंगापुरे तौलिया टेवलमा कफी मगाउँछु
सुसारेलाई साइडमा राख्छु, बेसारेलाई भगाउँछु ।

नेता आए लुरूक्क पर्छु भैहाल्छ भन्छु
अरू आए मुन्टो बटार्छु किन पो गन्छु ।

कसैले त सलाम नठोक्नेलाई झापडै ठोक्छन् रे
कोसेली नलिई आउनेलाई त गेटमै रोक्छन् रे ।

बिस्तारै म पनि सिक्दै त्यस्तै गर्दै जान्छु
फेला परेको कोष झिक्दै गोजी भर्दै जान्छु ।

रैतीका रूवाई घाममा सुकोस् बस् आफू रम्नु छ
दुई चार सालभित्र चाँडै काठमाण्डौमैँ जम्नु छ ।

Sunday, February 26, 2017

संस्मरण÷विस्मरण




स्नातक अध्ययनरत म । २०७० सालतिर क्याम्पसमुनि बतासे डाँडाँको पुरानो होस्टेलमा मेरो बास । उसो त त्यसताकाका स्मरणीय बात धेरै थोक नै छन् । तर यस क्षण एउटा घटना । कुरो बतासेडाँडाबाट नजिकै पर्ने कैलाशनगरको चोकैमा पर्ने यौटा पसलसित जोडिएको छ । त्यो पसलबाट रु एक हजारको एनटिसि रिचार्ज कार्ड किनी कार्डको नम्वर घरमा भाइलाई दिएँ । घरको मोवाइलमा डेट भ्यालिडिटी सकिएको रहेछ , डेट भ्यालिडिटी बढाउन ग्वाम्मै हजारको रिचार्ज गर्ने तर रिचार्ज भइआएको रकम भने पसलेलाई नै फिर्ता ट्रान्सफर गर्ने शर्त थियो । यसवापत पसलेलाई रु पचास सेवा शुल्क दिने सहमति थियो । सहमतिअनुसार नै भाइले घरबाट रिचार्ज गरीवरी सबै ब्यालेन्स मलाई ट्रान्सफर ग¥यो र मैले चाहिँ पसलेलाई । पसलमा ग्राहकहरु अरु नि थिए, लगभग सबै महिलाहरु । मैले साहुनीलाई सेवाशुल्क दिएँ । पसलको अर्को साइडमा साहूजी चाहिँ यौटी महिलालाई साली सम्वोधन गर्दै अन्तरंग कुरामा व्यस्त थिए । मैले साहूलाई केही अघि खाएको चुइंगमको प्याकेटको पैसो रु २० दिएँ र कोठातिर हिँडे ।

होस्टेलको खाना खाईवरी केटाहरुसित गफ गरिराखेको समयमा यौटा नचिनेको ल्याण्डफोनबाट कल आयो , उठाएँ । तपाइँ कहाँ हुनुहुन्छ ? अघि रिचार्ज गर्नेवाला तपाइँ हैन ? चुइंगमको पैसा नदिई हिँड्ने ? उनले फोन कुरोको चुरो फुकाए । मैले विचारे – अघि सालीसित गफ गर्दै थिए, मस्त मुद्रामा रहेका उनले मैले दिएको पैसा त बुझे तर ध्यान जति सबै सालीतिरै रहेछ । पैसा बुझेर ड्रयरमा राखेको हेक्कै भएनछ बबुरोलाई । मैले उनको प्रश्नको जवाफ फर्काएँ– म अहिले बतासेमा छु , पैसो त अघि नै दिइसकेको हो मैले । उनी भन्दै थिए – कहाँ दियौ पैसा ? खुरुक्क पैसा लिएर आऊ , मलाई अरु कुरा थाहा छैन । मैले भने – पैसा त बुझाइसकेको हो तैनि म आउँछु तपाइँको पसलमा ।


म गएँ । आशा थियो, मैले उनलाई घटनाबारे स्पष्टीकरण दिएर फर्किनेछु । उनको पसलमा अहिले बुढाबुढी मात्र रहेछन् । मैले भने – तपाइँ अघि एक जना महिलासित गफ गरिरहनुभएको थियो । त्यहीँ समय मैले बीस रुपैया दिएको हो । तपाइँले पैसा बुझेको ख्यालै गर्नुभएनछ । उनी एकाएक बम्किएँ – पैसा बुझे नबुझेको मलाई थाहा हुँदैन ? मैले दोहो¥याएर पैसा माग्छु त ? खुरुक्क पैसा दिएर हिँडिहाल, कुरो नगर मसँग । मैले फेरि सविनय भने– म जाली कुरा गर्ने फटाहा होइन , तपाइँले फोन गरी बोलाउँदा म नआउन नि सक्थे तर तपाइँलाई साँचो कुरो सम्झाउन बुझाउन सक्छु कि भन्ठानेर मात्रै म आएको हुँ । उनी अझै बम्किएर “के मैले तँसित पैसो नभएर मागेको हो ...... ला ... कति चाहिन्छ लैजा ......” भन्दै गन्दै गरेको हातको पैसा मतिर फ्याँके । म किंकर्तव्यविमुढ बनेर ट्वाल्ल परी उनको हर्कत हेर्दै गर्दा साहूकी बुढीले मतिर हेरी हाते इशाराको साथ बोलिन्– तपाइँ जानू ... जानू । उनको आग्रह परिस्थिति नियन्त्रण गर्ने प्रयत्न थियो । मैले बुझे, यहाँ मेरो केही चल्नेवाला छैन । खुरुक्क निकाली फेरि २० रुपैयाँ साहुनीलाई दिएँ र हिँडे । साहू भनाउँदो केजाति बोल्दै अझै फतफताउँदै थियो । मैले बीस रुपैयाँ फोकटमा तिरे, त्यसको लागि चीत्त दुख्नेवाला थिएन तर त्यससँगै भएको मानहानी औँ अपमानले भने धेरै चीत्त दुख्यो ।

Thursday, April 3, 2014

''ऋण असुल्न त कसैले वायुबाट सिकोस्।''

''ऋण असुल्न त कसैले वायुबाट सिकोस्।'' ૨૦७૦/૧૨/૨૧
मान्छे यति गरीब छ, यति गरीब छ, भओ नकुरा गरम् भन्दा नि गर्नै मन लाग्छ । मान्छेले हरेक पल ऐंचोपैंचो र दानदातव्यमै गुजारेको छ? रोडपति पनि ऋणमै बाँचेको छ, करोडपति पनि ऋणमै बाँचेको छ। करोडपतिलाई के को ऋण भन्नुहोला। ठूलाबडाको ऋण झन् ठूलै जो हुन्छ भन्छन्। :) तर मैले यहाँ पैसाको ऋणको कुरा गर्न चाहिनँ। सबै मान्छेको सबैभन्दा साझा अनि सबैभन्दा ठूलो साहु हो -वायु अर्थात् हावा भन्नुस् वा अक्सिजन भन्नुस्। बिचार गर्नुस् वायुबाट थोरै हावा सापट नलिइकन तपाइ एक पल रहन सक्नुहुन्छ? प्रत्येक पल वायुसित थोरै थोरै ऋण लिंदै हामीले आफूलाई बचाइरहेको छौ। फेरि यो वायु पनि अन्त्यन्तै चुइँया र कञ्जुस साहु जो छ, हेर्नुस् है। गर्छ के भने एकपल्टमा धेरै ऋण पनि दिदैन, अनि फेरि ऋण हेर्नुस त कति चाँडो असुल्छ। वायुबाट सापटी लिएर फोक्सोभित्र छिराएको अक्सिजन दुइ मिनेट सम्म भित्रै राख्ने चेष्टा गर्नुस्, अनि थाहा पाउनुहुन्छ- वायु कति कडा/strict साहू हो भनेर, प्राणै फुत्केला झै बनाइदिन्छ, कि होइन? फेरि अर्को कुरा! हेर्नुस् त कुनै मान्छे मर्दा छेउछाउका आसेपासे इष्टमित्रमा गाइँगुइँ सुनिन्छ नि- ''फलानोले त मेरो यति रूप्पे ऋण खाएर मर्यो''। चलेको ऋण दिने साहु रहेछ भने गएर सोध्नोस् त- उसको ऋण खाएर मर्नेहरूको नामको लिष्ट उसलाई कण्ठष्ठ नै छ होला, फलानो-हलानो-चलानो भनेर फरर भन्दिन सक्छ। तर के त भन्दाखेरि यो वायु हेर्नुस् यति कडा छ, यति कडा छ। वायुको ऋण खाएर कोही मान्छे मर्यो भन्ने आजसम्म यो लोकमा यतिका मितिसम्म सुनियाँ छैन। अन्तिमपल्ट लिएको सास(ऋण) पनि 'फ्वाँ' गरेर फेरि वायुलाई नै फिर्ता गरेपछि मात्र यमलोकको टिकेट पाइन्छ। ऋण असुल्न त कसैले वायुबाट सिकोस्।

Tuesday, November 26, 2013

नमूना गजल ;)

हिड्दै थियो गलेछ।
लौ न ऊ त ढलेछ।।

पेलियो प्रेमद्वारा।
आगो बिनै जलेछ।।

अंगुर फल्छ भन्थ्यो। 
ऐजेरू  पो    पलेछ।।

निष्ठुरी  रैछ माया।
छल्नुसम्म छलेछ।।

निसास्सियो बिचरा।
हावा अन्तै  चलेछ।।

Tuesday, August 20, 2013

“गुटखा गुरू” [कथा]

१. _____ स्कुल छुट्टी हुनासाथ हाम्फाल्दै अनिल डेरातिर हान्नियो। डेरा पुग्नासाथ ढोका खोलिवरी अस्तव्यस्त बेडको सिरकमाथि झोला मिल्कायो। ड्रेस फेर्नु बाँकि नै थियो, उसको नजर एकाएक अब एक कुनामा राखिएको झोलामा पर्यो। झोला खोलेर उसले त्यसभित्रको छाताको खोल निकाल्यो, जसमा उसको भएजतिको नगद श्रीसम्पत्ति थियो। फुटकरसमेत जोडेर गन्दा जम्माजम्मी रू.७५५ भयो। के शुर चल्यो कुन्नी? उसले जम्मै पैसा गोजीमा हुल्यो र ड्रेसै नफेरी मोबाइल गोजीमा कोचेर नजिकैको होटलतिर लम्क्यो। दिउसभरिको भोक खपेको पेटको पूजा गर्ने बेला उसको यही थियो। मटर-समोसा मगाएर एक चम्मच खान भ्याको थ्यो, फोनमा रिङटोन बज्यो-Enrique को '....सम्बडिज मि ओ एइ'! उसकै दाजू अजयले गरेको रैछ। फोन उठायो,उताबाट सुनियो-“ओए? काँ छस् त? बालाई सञ्चो नभएर जिल्ला-हस्पिटल ल्याछम्। तँ झट्टै आइज त तल हस्पिटलमा।” अनिलले 'हुन्छ' भन्यो,उताबाट फोन काटियो। ऊ अब होटेलवालालाई पैसो भोलि तिरौला भन्दै त्यहाँबाट उड्यो हस्पिटलतिर। बाटैमा संजोगले भरत देखा पर्यो,उनीहरू एउटै गाउँको अनि एउटै स्कुलका सहपाठी। भरतले औपचारिकताबिना नै भनिहाल्यो-“कता हिडिस् यार? ओए छ भने गोडा पाँच सय सापट दे न यार,चाहियाथ्यो।” अनिल कड्कियो-“आफ्नो ह्याँ ड्याड बिमारी भएर हस्पिटल आउनुभाछ र उतै जान लाको, पैसा बरू छ भने मलाइ दे बुझिस्?” भरत वाल्ल पर्यो र भन्यो-“ ओ सरी यार! टाइम भको भए त म पनि जान्थे, ल ल ठीकै छ चाँडो जा।...ए ए सुन् त पैसा त माग्न भएन क्यारे, बरू एउटा भोला(गुटखा) त ख्वान यार,आफू त भुक्का भाछु यार आज त!” नजिकैको पसलमा छिरेर अनिलले दश रूपैया तिरी ४ वटा भोला किन्यो,खासमा उसलाई नि तलतल लागिराथ्यो। एक प्याकेट भोला खोलेर मुखाँ हाल्यो अनि अर्को प्याकेट भरतको हातमा थमाउँदै उसले हकार्यो-“ तँ त सधैको भुक्का त हो नि! कैल्यै पैसो छ भन्या सुनिया छैन क्यारे! ल ल म हिडे, तँ आफ्नो बाटो लाग्!” अनिलको छोटाछोटा पाइला छिटोछिटो चल्न थाले। ____________________________________________________________________________________२. _____ हस्पिटलमा पुगेर सोधपुछ गरी उ सिधै बेड नं १६ मा पुग्यो। त्यहाँ उसका बा बेडमा पल्टेका थिए। दाजू चाहि छैवैमा बसेको थियो। अनिलले दाजूलाई सोध्यो -के भयो र बालाई? “तेरो बालाई केही भा छैन,नडरा!” बेडमा पल्टेका बाले आफै जवाफ दिए। उसको दाजूले भन्यो-“ हिजोदेखि जो मृगोलानिर दुखिराछ भन्नुभाथ्यो,अघि डाक्टरले चेक गर्याथ्यो-पत्थरी छ अरे! भोलि अपरेसन गरेर निकाल्ने भनेको छ।” अनिलले दाजुको मुखाँ ट्वाल्ल परेर हेर्दैथ्यो, उसका दाजूले जुरुक्क उठेर एक थप्पड दिए अनिललाई। “साले भोला पो खाँदो रहेछ।” उसको दाजू जङ्गिए। अनिलले पछाडि फर्केर झ्यालबाट थुक्यो अनि अरु बाँकि दुइ प्याकेट भोला-गुटखा पनि झ्यालबाटै मिल्कायो। “ए विद्या यो त अम्मली पो भैसकेछ, तँलाई चिर्कोट! पढ्न भनेर पठाको त यस्तोयस्तो पो सिकेछ त हँ यसले त!” उसको दाजूले एक चड्कन फेरि कसेरै दिए। उसका दुबै गाला राता भए। यतिञ्जेल पल्टिराखेका उसका बा पनि उठेर बसे,उनको पनि पारो तात्यो। अजय(अनिलको दाइ) पट्टी फर्केर उनले दाह्रा किट्दै उनले भने-“ एक थप्पड अर्को पनि हान् यसलाई। घरबाट आउनजान गाह्रो भो ,बजारमै बसेर पढ्यो भने छोरोले राम्ररी एस.एल.सी. पास गर्ला भनेको त यो त पूरै लफङ्गो पो भएछ त!” अनिल सुक्कसुक्क गर्न थाल्यो। टिठ लाग्यो क्यारे अजयले अर्को थप्पड चाहि हानेनन्। उसका बाले उही पुरानो डाइलगमा हप्काएँ-“अर्को चोटी यस्तो भेट्टाए भने तँलाइ झुण्ड्याएर मार्छु बुझिस्?” अनिल केही नि बोलेन ,एकछिन सबै मौन भए। एकछिनपछि अनिलका बा बोले-“ए अनिल तँ जा कोठामा, ह्याँ तेरो दाइ छदैछ, गएर खाना बनाएर खा, राम्रोसँग पढ्नु! दायाँबायाँ हैन नि! ह्या मेरो केही नि चिन्ता लिन पर्दैन,बरू भोलि नि यै टाइममा आइज!” अनिल 'हवस्' भन्दै कोठामा फर्कियो। ____________________________________________________________________________________३.______ अनिल बिहान खाना बनाइ खाइवरी स्कुल जान्थ्यो र स्कुलबाट फर्केर सिधै हस्पिटलमा जान्थ्यो बालाई भेट्न। चार दिनसम्म यही क्रम दोहोरियो। पाँचौ दिन साँझ नै उसका बा डिस्चार्ज हुनुभो, उनीहरू तिनैजना त्यो रात अनिलको कोठामा खानासाना खाएर सुते। अर्को दिन बिहानको खाना खाएर दुइ बाउछोरा घरतिर लागे भने अनिल चाहि स्कुल। अनिलले भरतको सङ्गत छोडिसकेको थियो। क्लासमा पनि उसित बस्थेन ,बोल्न पनि छोडिसकेको थियो। कारण प्रष्ट थियो भरतकै संगतमा लागेर अनिलले गुटखा खान सिकेको थियो र त्यसकै कारण उसले चड्कन खानुपर्यो। त्यो दिन स्कुलबाट फर्कदा अनिल अगाडिअगाडि र भरत पछाडिपछाडि हिडिरहेका थिए। भरतले पछाडिबाट बोलायो-“ओए अनिल रूक् न!” अनिल एकछिन रोकियो। भरत छेवैमा आएर भन्यो-“के हो यार? तँ त मसँग बटारिदै हिन्छस् त? के भयो हँ? ह्या जे सुकै होस्,सब कुरा बिर्सिदे। ..ए ए सुन् त एउटा भोला ख्वान यार,आज त म त भुक्का भाछु यार,सुक्को छैन।” अनिलले दाँत बजाउदै एक मुक्का भरतको काँधमा बजार्यो र भन्यो-“साले तैले यै भोला खान सिकाउदा दाइको पिटाइ खान परो। अब त इस् ख्वाउचु तँ जाबोलाई, तँ साले साइड लाग्!” भरत पनि रिसाउदै जङ्गियो-“ अनि दाइको रीस तैले ममाथि पोखेको? साले मलाइ हिर्काइस् हैन? अलि अस्ति मैले तँ बाट सापट लिएको दुइ हजार रूप्पे अब तैले नपाउने भइस्, पैसा पच्, तँ पनि साइड लागे हुन्छ भाइ अब!” यति भनेर भरत रन्केर गयो। अनिललाई पर्नु पीर पर्यो, उसले मनमनै सोच्यो-“हे भगवान्! यो 'गुटखा गुरु'ले त डुबाउनु डुबायो नि! उता दाइको कुटाइ खान परो, यता पैसो पनि दिन्न भन्च। गोजीमा पैसो पनि सकिंदै गाछ, घरबाट मगाऊँ भने अस्ति भर्खर तीन हजार ल्याइएकै हो,फेरि बाको अपरेसन गर्दा टन्नै खर्च भो, घरमा पनि काँ पैसा होला र? यो सालेले दिए त यो महिनाको खर्च त टर्थ्यो। अब यसलाई के भनेर फकाउनु नि?” ______________________________समाप्त____________________________________________